रसीद आलम ,मकवानपुर, ८ कात्तिक ।
मकवानपुरको नेवारपानीबाट प्रहरीले १०५ किलो ६९ ग्राम लागू औषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ।
कात्तिक ७ गते इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका वडा नं. १९, नेवारपानी स्थित पूर्व–पश्चिम राजमार्गको जंगल छेउमा पार्क गरिएको बागमती प्रदेश ०१-०२५ च ७८७१ नम्बरको योद्धा पिकअप गाडी जाँच गर्दा गाँजा फेला परेको हो।
प्रहरीले गाडी भित्र रहेका मकवानपुरको बसामाडी निवासी २४ वर्षीय पन्चलाल थिङलाई पक्राउ गरेको छ। गाडी तथा थिङको खानतलासी गर्दा ३ वटा बोरा भित्र रातो प्लास्टिकले बेरिएका १० वटा पोकामा १०५ किलो ६९ ग्राम गाँजा फेला परेको थियो।
पक्राउ परेका थिङलाई लागू औषध गाँजा मुद्धामा सम्मानित मकवानपुर जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
