पुर्वसभामुख दमननाथ ढुंगनाको निधन, कलेजो रोगवाट थिए पीडित, निधनमा राष्ट्रपतिद्वारा दु:ख व्यक्त

राजनीति समाचार

काठमाडौं ,३ मंसिर । पूर्वसभामुख तथा नागरिक अभियन्ता दमननाथ ढुंगानाको निधन भएको छ ।

 

फ्रन्टलाइन अस्पताल, काठमाडौंमा उपचारको क्रममा उनको आइतबार दिउँसो निधन भएको जनाइएको छ ।

 

उनी फोक्सो क्यान्सर तथा कलेजोसम्बन्धी समस्याबाट पीडित ढुंगना केही समय देखी उपचाररत थिए ।

 

ढुंगाना आम निर्वाचन २०४८ मा काठमाडौं जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए । ०४६ सालको जनआन्दोलन पछि प्रतिनिधिसभाको पहिलो निर्वाचित सभामुखको जिम्मेवारीमा थिए । उनी बरिष्ठ अधिबक्तासमेत हुन् ।

 

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा दुःख व्यक्त गरेका छन्। उनको मृत्युको खबरले आफू मर्माहत बनाएको राष्ट्रपति पौडेलले बताएका छन्।

‘पूर्वसभामुख एवं संविधानविद् दमननाथ ढुंगानाको निधनको खबरले मलाई मर्माहत बनाएको छ। पञ्चायतकालमा विद्यार्थी संगठनबाट राजनीति प्रारम्भ गर्नुभएको उहाँले वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाजको अगुवाको पहिचान बनाउनुभएको छ,’ उनले भनेका छन्।

नेपालको लोकतान्त्रिक आन्दोलनमा ढुंगानाले पुर्‍याएको योगदानलाई मुलुकले सधैँ स्मरण गरिरहने राष्ट्रपतिको भनाइ छ। ‘दुःखको यस घडीमा प्रिय मित्र ढुंगानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ उनले लेखेका छन्।

 

पूर्वसभामुख ढुंगानाको निधनले दुःखी तुल्याएको छ : माओवादी अध्यक्ष दाहाल:

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनले दुःखी बनाएको बताएका छन्।

‘नेपालको लोकतान्त्रिक आन्दोलनका महत्त्वपूर्ण व्यक्तित्व, पूर्वसभामुख, मानव अधिकार तथा नागरिक आन्दोलनका अगुवा आदरणीय दमननाथ ढुंगानाको निधनको खबरले दुःखी बनाएको छ। नेपाल र नेपाली जनताले देशको राजनैतिक तथा सामाजिक परिवर्तनमा उहाँले पुर्‍याएको योगदानलाई सदैव सम्झिरहनेछन्। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *