तनहुँ,१ फागुन ।
तनहुँको भीमाद नगरपालिका-६ शान्तिनगरस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलकी एक शिक्षिकाले कक्षा ४ मा अध्ययनरत एक बालकलाई तातो पन्युले डामेर घाइते बनाएकी छन्।
शिक्षिका सुष्मा श्रेष्ठले कक्षामा हो-हल्ला गरेको भन्दै मंगलबार बिहान साढे ११ बजे बालकको गालामा तातो पन्युले डामेको प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिएका छन्।
घटनाबारे जानकारी पाएपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको छ। अनुसन्धानका क्रममा उनले अन्य दुई विद्यार्थीलाई पनि त्यही तरिकाले दण्ड दिएको खुलेको छ।
पीडित बालकका अभिभावकले प्रहरीमा जाहेरी दिएपछि श्रेष्ठलाई नियन्त्रणमा लिइएको हो। उनी सोही विद्यालयको लेखापालसमेत रहेको जनाइएको छ।
प्रहरीका अनुसार शिक्षिकाविरुद्ध बालबालिकाविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको छ। जिल्ला अदालत तनहुँले उनलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
