पर्सा, चैत २७।
जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका अन्तर्गत विशेष सूचनाका आधारमा गरिएको छापामारीमा भन्सार छलि चोरी पैठारी गरिएका लाखौं रुपैयाँ बराबरका सामानहरू फेला पारिएको छ।
वीरगञ्ज म.न.पा. वडा नं. १०, आदर्शनगरस्थित दुईतले घरको ग्राउण्ड फ्लोरको प्यासेजलाई बन्द गरी कोठा बनाएर प्रयोग गर्दै आएका राम विनय साहको कोठाबाट प्र.सी.सु.गुल्म वीरगञ्ज, बिओपी सिर्सिया र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा मारेको थियो। सो क्रममा भारतबाट चोरी पैठारी गरिएका रु. २,०१,३५० बराबरका लेडिज सुट र पार्टी सुज फेला परेका थिए। ती सामग्रीहरू आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
त्यसैगरी, सोही मितिमा वीरगञ्ज म.न.पा. वडा नं. १६, बसपार्क क्षेत्रबाट सीमा सुरक्षा गुल्म वीरगञ्जको मोबाइल गस्ती टोलीले विशेष सूचनाको आधारमा उक्त स्थानमा विभिन्न सवारी साधनहरू जाँच गर्दा भारतबाट भन्सार छली चोरी पैठारी गरिएका रु. ६३,००० बराबरका अमुल फ्रेस क्रिम र बटर फेला पारिएको थियो। फेला परेका ती सामग्रीहरू पनि भन्सार कार्यालयमा बुझाइएको छ।
प्रहरी र भन्सार कार्यालयले चोरी पैठारी नियन्त्रणका लागि निगरानी अझ कडा बनाइएको जनाएका छन्।
