पर्सा, चैत २७।
पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–६ स्थित महुवन र एकडर्वा गाउँको सीमास्थित चौरमा भएको झगडापछि कटुवा पेस्तोल र गोलीसहित एक व्यक्ति पक्राउ परेका छन्।
प्राप्त जानकारी अनुसार, मिति २०८१ साल चैत २६ गते राति करिब ११:३० बजे बिरेन्द्र यादव (उमेर ६० वर्ष) र उनका सहोदर भाई सिकिन्द्र यादव (उमेर ५५ वर्ष) बीच गहुँ काट्ने विषयमा झगडा भएको सूचना प्राप्त भएपछि प्रहरी चौकी महुनवबाट खटिएको टोली घटनास्थल पुगेको थियो।
प्रहरीले झगडा छुट्याउने क्रममा बिरेन्द्र यादवले लगाएको निलो ट्रयाकसूटमा रातो धर्का भएको भागमा संकास्पद वस्तु देखिएको हुनाले कानुनी प्रक्रिया अनुसार शरीर खानतलासी गर्दा, उनको कम्मरमा कालो बेल्टमा बाँधिएको फलामले बनेको कटुवा पेस्तोल थान–१ फेला परेको थियो। उक्त पेस्तोलमा BMM KF 00 लेखिएको गोली राउण्ड–१ लोड गरिएको थियो भने थप BMM KF 00 लेखिएको गोली राउण्ड–३ लुकाइ राखिएको अवस्थामा फेला परेको थियो। साथै फलामको गोली राख्ने चाचर थान–१ पनि बरामद गरिएको प्रहरीको भनाइ छ।
बरामद सामग्रीसहित बिरेन्द्र यादवलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पोखरिया पर्सामा हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिएका छन्।
पक्राउ परेका व्यक्ति विवरणः
नाम: बिरेन्द्र यादव
उमेर: ६० वर्ष
ठेगाना: सखुवा प्रसौनी गाउँपालिका–६, पर्सा
पक्राउ मिति: २०८१ साल चैत २६ गते
कसूर: हातहतियार तथा खरखजाना सम्बन्धी
बरामद सामग्री:
- कटुवा पेस्तोल थान–१
- BMM KF 00 लेखिएको गोली राउण्ड–४
- फलामको गोली राख्ने चाचर थान–१
