पर्सा, चैत २७।
वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटस्थित सडकखण्डमा लागु औषध गाँजा जस्तो देखिने पदार्थसहित तीन जना व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त चेकजाँच टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका पैदल यात्रुलाई शंकास्पद देखी चेकजाँच गर्दा लागु औषध बरामद भएको हो।
पक्राउ पर्नेमा पर्सा जिल्ला, पर्सागढी नगरपालिका–३ झबराहा बस्ने २९ वर्षीय पंचलाल माझी, २१ वर्षीय मुकेश माझी र ४४ वर्षीय सुनिल बम्जन रहेका छन्।
प्रहरीका अनुसार पंचलाल माझी र मुकेश माझीको शरीरमा सेतो टेपले बेरिएको अवस्थामा लुकाइएको गाँजा जस्तो देखिने पदार्थ फेला परेको हो। उनीहरूबाट क्रमशः २ केजी ८७५ ग्रामका दरले कुल ५ केजी ७५० ग्राम गाँजा जस्तो देखिने पदार्थ बरामद गरिएको छ।
डिएसपी किशोर लम्सालका अनुसार पक्राउ परेकाहरूमाथि लागु औषध सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ।
