सीमा सुरक्षामा सेन्ध : रक्सौल नाकाबाट यूएई नागरिकसहित ‘गाइड’ पक्राउ

समाचार

बिहार ,रक्सौल ,७ मंसिर ।

भारत–नेपाल सीमामा सुरक्षा एजेन्सीको उच्च सतर्कताले अवैध रूपमा सीमा पार गराउने प्रयास विफल भएको छ। रक्सौल सीमामा संयुक्त सुरक्षा गस्तीको क्रममा एक यूएई (UAE) नागरिक र उनलाई गैरकानुनी रूपमा सीमा पार गराउन लागेको अभियोगमा एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ। ४७ औं बटालियन एसएसबी र नेपाल एपीएफको संयुक्त टोलीले सीमा स्तम्भ नं. ३८९/९ नजिक उक्त पक्राउ गरेको हो।


संयुक्त गस्तीमा रहस्यमय गतिविधि खुलासा

रक्सौल–सहदेवा गाउँतर्फबाट नेपाल बारा जिल्लाको बलिरामपुर तर्फ गइरहेका दुई व्यक्तिलाई संयुक्त गस्ती टोलीले शंका लागेर रोकेपछि, सोधपुछका क्रममा एक जना विदेशी नागरिक रहेको खुल्न आएको भारतीय नागरिकको सहायतामा उनी गैरकानुनी रूपमा नेपाल प्रवेश गर्न लागेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ।

पक्राउ परेकामध्ये भारतीय नागरिक अनवरुल हक (स्थायी ठेगाना– बिशनपुर, सीतामढी, बिहार) को पहिचान भएको छ। उनलाई अवैध पारवहनमा संलग्न रहेको आशंकामा पक्राउ गरिएको हो। उसको साथबाट भारत र नेपाल दुवै देशका नागरिकता सम्बन्धी कागजात समेत फेला परेका छन्।

त्यसैगरी, विदेशी नागरिकको परिचय ३४ वर्षीय सलम अब्दुल्लाह खलफान अल शम्सी (पासपोर्ट नं. AA0498168) रहेको छ, जसले आफ्नो स्थायी बसोबास स्थान अबुधाबी, अल ऐन रहेको बताएका छन्।


भिसा अवधि, वैध कागजात र ‘डिपार्चर स्टाम्प’को अभाव

अनुसन्धानका क्रममा सलेम अल शम्सी ८ मार्चमा टुरिस्ट भिसामा भारत प्रवेश गरेको र सो भिसा २०२५ को २९ अगस्टसम्म वैध रहेको पत्ता लागेको छ। उनले भिसा विस्तारका लागि एफआरआरओ, मुम्बईमा आवेदन दिएको प्रमाणसमेत भेटिएको छ। तर, उनको पासपोर्टमा भारतको वैध निर्गमन मुहर (डिपार्चर स्टाम्प) भने नभेटिएको प्रहरीले जनाएको छ।

शम्सीले आफू पर्यटन र व्यापारिक सम्भावना अध्ययनका लागि नेपाल आउने प्रयासमा रहेको स्वीकृति दिएका छन्। उनले १९ नोभेम्बरमा रक्सौलस्थित होटल आयुष्मानमा जम्मू–कश्मीरका निवासी हक नवाजसँग बसेको बयान दिएका छन्। यही क्रममा उनको भेट अनवरुल हकसँग भएको र उसले गैरकानुनी बाटोबाट वीरगञ्ज पुर्‍याइदिने आश्वासन दिएको बयान शम्सीले दिएका छन्।


कानूनी प्रक्रिया अघि बढ्यो, अनुसन्धान थप तीव्र

दुवै व्यक्तिलाई प्रारम्भिक अनुसन्धानका लागि आव्रजन कार्यालयमा बुझाइएको थियो। संयुक्त अनुसन्धानमा तेस्रो व्यक्ति हक नवाजको नाम पनि खुलेको प्रहरीले जनाएको छ। विस्तृत अनुसन्धानपछि ४७ औं एसएसबी कम्पनी कमाण्डर रञ्जित मिश्राको निर्देशनमा सलेम अल शम्सी र अनवरुल हकलाई थप कानूनी प्रक्रियाका लागि रक्सौल प्रहरीमा बुझाइएको हो।

रक्सौल थानाध्यक्ष अभिषेक कुमारका अनुसार घटनाको संवेदनशीलता हेर्दै विस्तृत तथा गहन अनुसन्धान भइरहेको छ। सुरक्षा एजेन्सीहरू यसलाई सम्भावित अन्तर्राष्ट्रिय सञ्जालसँग पनि जोडेर अध्ययन गरिरहेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *