वीरगञ्ज, ३० चैत ।पर्साको वीरगञ्ज महानगरपालिकामा लागू औषध गाँजा कारोबारमा संलग्न एक जना बालकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका–१६ नगवा फुलवारी टोलस्थित एक घरमा छापा मारेको थियो। सो क्रममा शेष मखु मियाँको घरमा खानतलासी गर्दा साना–साना पोका बनाई बिक्रीका लागि राखिएको गाँजा जस्तो देखिने पदार्थ बरामद गरिएको हो।
प्रहरीका अनुसार प्लाष्टिक बाहेक १४ केजी २२६ ग्राम गाँजा जस्तो देखिने पदार्थ फेला परेको छ। उक्त पदार्थ साना पोका बनाई नवयुवाहरूलाई बिक्री गरिरहेको अवस्थामा भेटिएको जनाइएको छ।
घटनामा संलग्न करिब १५/१६ वर्षका एक बालकलाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेका बालकविरुद्ध लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी हरि बहादुर बस्नेतले बरामद लागू औषधसहित घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।
