पर्सा, ८ मंसिर ।
विशेष सूचनाका आधारमा खटिएको संयुक्त सुरक्षा टोलीले पर्साको पकाहामैनपुर गाउँपालिका–१ धोरे चेकप्वाइन्टबाट श्रोत नखुलेको १५ लाख रुपैयाँ बराबरको हुण्डी रकमसहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मिति २०८२।०८।०७ गते दिउँसो करिब २ः३० बजेतिर प्रहरी चौकी धोरे र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त टोलीले नियमित चेकजाँचका क्रममा BR22AF4126 नम्बरको मोटरसाइकललाई रोक्दै तलासी गर्दा उक्त रकम बरामद गरिएको हो।
उक्त मोटरसाइकलमा सवार पकाहामैनपुर–१, धोरेका ३४ वर्षीय अवधेश पटेलले मोटरसाइकलको लेगगार्डमा लुकाइछिपाइ राखिएको ‘पंकज मसला’ लेखिएको झोलाभित्र कालो प्लास्टिकमा बेरिएको अवस्थामा उक्त रकम रहेको प्रहरीले जनाएको छ।
बरामद रकममा नेपाली रु.१००० दरका ७९० थानमा रु.७,९०,०००, रु.५०० दरका १,३०१ थानमा रु.६,५०,५००, रु.१०० दरका ५६९ थानमा रु.५६,९००, रु.५० दरका ५० थानमा रु.२,५०० र रु.२० दरका ५ थानमा रु.१०० गरी जम्मा रु.१५,००,००० रहेको छ।
अवैध रूपमा हुण्डी कारोबारका लागि प्रयोग भएको आशंकामा उक्त रकम र मोटरसाइकलसहित आरोपीलाई नियन्त्रणमा लिइएको र मुलुकी अपराध संहिता, २०७४ को दफा १२५(क) बमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए।
पक्राउ परेका व्यक्ति:
अवधेश पटेल, वर्ष ३४, पकाहामैनपुर–१, धोरे, पर्सा।
