सशस्त्रका डिएसपी भण्डारीको कमान्डमा ५४ लाख बराबरको भन्सार छलिएको समान बरामद

समाचार

बिरगंज, ७ मंसिर।
सशस्त्र प्रहरी बल, पर्साअन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजले ठूलो मात्रा मा भन्सार छलिएको सामान जफत गरेको छ। गुल्म बिरगंजका प्रभारी डिएसपी पुरुषोत्तम भण्डारीको नेतृत्वमा खटिएको संयुक्त टोलीले करिब रु. ५४ लाख ०१ हजार मूल्य बराबरको खाद्यान्न तथा औषधिजन्य सामग्री बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बलका अनुसार, मिति २०८२/०८/०५ गते दिउँसो करिब १३:१५ बजे, पर्सा जिल्लाको बिरगंज महानगरपालिका–१०, आदर्शनगरस्थित पुरानो घरमा भन्सार छलि चोरी–पैठारी गरी किराना तथा औषधि सामग्री भण्डारण गरिएको भन्ने गोप्य सूचनाका आधारमा सो अभियान सञ्चालन गरिएको हो।

गुल्मबाट खटिएको डिएसपी भण्डारी नेतृत्वको १५ जनाको टोली तथा वीरगंज भन्सार कार्यालयका ना.सु. हफिजुल्ला अन्सारीको नेतृत्वमा ३ जनाको समन्वय टोली सहितको संयुक्त फोर्सले उक्त स्थानमा छापा मारी काजु, मरिच, आल्मोण्ड, छोकडा लगायतका किराना सामाग्री तथा विभिन्न औषधि जफत गरेको हो।

बरामद गरिएको सामानको अनुमानित मूल्य रु. ५४,०१,०००।– रहेको र आवश्यक कारबाहीको प्रक्रियाका लागि सम्पूर्ण सामग्री वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

सशस्त्र प्रहरीका अधिकारीहरूका अनुसार सीमाक्षेत्रमा भन्सार छल तथा अवैध पैठारी नियन्त्रणलाई लक्षित गर्दै यस किसिमका संयुक्त निगरानी तथा अपरेसन आगामी दिनमा झनै सुदृढ गरिने बताइएको छ।

स्थानीय तहमा समेत सूचनाको समन्वय गर्दै सुरक्षा निकायले सीमापार व्यापारिक अपराध रोकथाममा कडाइ गर्दै आएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *