वीरगञ्ज ,२७ चैत ।
लागू औषध नियन्त्रणको सिलसिलामा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं.१६ स्थित शंकराचार्य गेट नजिकैबाट चरेश जस्तो देखिने लागु औषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
मिति २०८१ साल चैत २६ गते दिउँसो करिब १२:३० बजे नेपालबाट भारततर्फ जाँदै गरेका सवारी साधन र पैदल यात्रुहरूलाई संयुक्त चेकजाँच गर्ने क्रममा ईनर्वा प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले शंका लागी एक जनालाई रोकी जाँच गर्दा लागु औषध फेला परेको हो।
पक्राउ पर्ने व्यक्ति भारत बिहार राज्यको मोतिहारी जिल्ला अन्तर्गत सुगौली थाना अन्तर्गत ग्राम छपरा वडा नं.७ का ४५ वर्षीय बिकाश साह कानु हुन्। उनले लगाएको खरानी रंगको बण्डीको प्याकेटमा पहेलो रंगको प्लास्टिक र टेपले बेरिएको अवस्थामा ४ प्याकेटमा जम्मा २ के.जी. चरेश जस्तो देखिने लागु औषध फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका कानुलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद लिई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।
