काठमाडौं,१० मंसिर । नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको प्रमुख आतिथ्यतामा ‘लाफ्टर फर लाइफ’ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि राईले प्रहरीहरूले कर्तव्य पालनाको क्रममा तनाव सामना गर्नु पर्ने भएकाले यस्तो कार्यक्रमले मनोरञ्जनको माध्यमबाट मानसिक राहत प्रदान गर्ने विश्वास व्यक्त गरे। उनले कार्यक्रम प्रस्तुत गर्ने नेपाली हाँस्य कलाकार सन्दीप क्षेत्री र उनको समूहलाई धन्यवाद दिँदै मायाको चिनो प्रदान गरे।
नेपाल प्रहरीको व्यस्त दिनचर्यालाई विश्राम र मनोरञ्जनको अवसर प्रदान गर्न हाँस्य कलाकार सन्दीप क्षेत्री र उनको समूहले उक्त प्रस्तुति दिएका थिए।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरू र प्रहरी जवानहरूको उपस्थिति रहेको थियो।
