२०८४ सम्म एमाले-कांग्रेस सरकार डगमगाउने छैन: सांसद प्रभु हजरा।

बिदेश राजनीति समाचार

पर्सा, ७,पुष ।

नेकपा एमालेका सांसद प्रभु हजराले २०८४ को निर्वाचनसम्म एमाले र कांग्रेसको गठबन्धन सरकारलाई कुनै चुनौती नआउने दाबी गरेका छन्। उनले सरकार स्थिर रहँदै जनताको हितमा काम गर्ने ठोकुवा गरेका हुन्।

एमाले निकट भातृ संगठन अखिल नेपाल पिछडावर्ग (ओबीसी) महासंघ पर्सा कमिटीद्वारा आयोजित जिल्ला स्तरीय बैठकलाई सम्बोधन गर्दै सांसद हजराले देशलाई विकासमुखी बनाउने र जनताको असन्तुष्टिलाई सन्तुष्टिमा बदल्ने उद्देश्यले यो गठबन्धन सरकार बनेको बताएका छन्।

जनताको विश्वास जित्न लोकप्रिय कार्यक्रमको तयारी
सांसद हजराले वर्तमान सरकारले गति लिइसकेको उल्लेख गर्दै चाँडै नै जनताको हितमा लोकप्रिय कार्यक्रम ल्याइने दाबी गरे। उनले एमाले र कांग्रेसको गठबन्धन सरकार देश र जनताको हितमा लामो समयसम्म प्रभावकारी हुने विश्वास व्यक्त गरे।

ओबीसीको संगठन विस्तारमा जोड
एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज समेत रहेका सांसद हजराले ओबीसी महासंघद्वारा सुरु गरिएका कार्यक्रमलाई प्रशंसा गर्दै वडा तहसम्म संगठन विस्तार गर्न र उर्जाका साथ काम गर्न सुझाव दिए।

बैठकका निर्णयहरू
बैठकले जिल्ला भेला तथा पालिका अधिवेशन चाँडै सम्पन्न गर्ने निर्णय गरेको छ। ओबीसीका केन्द्रीय उपाध्यक्ष अकलेश साहले बैठकबाट यही पुष २७ गते पार्टी कार्यालय पर्साको सभाहलमा जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने सर्वसम्मत निर्णय भएको जानकारी दिए। बाँकी रहेका पालिका अधिवेशन पुस मसान्तभित्र सम्पन्न गरिने र संगठन विस्तार तथा सदस्यता वितरणलाई निरन्तरता दिने निर्णयसमेत बैठकले गरेको छ।

बैठकमा पिछडावर्ग महासंघका केन्द्रीय अध्यक्ष तेजप्रकाश निषाद, सांसद निर्मला देवकोटा, नेकपा एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्मा, उपाध्यक्ष मनोज गुप्ता, सचिव महेश दास लगायतका नेताहरूले धारणा राखेका थिए।

बैठकको अध्यक्षता ओबीसी पर्सा जिल्ला उपाध्यक्ष दयानन्द गुप्ताले गरेका थिए। कार्यक्रममा केन्द्रीय सदस्य रामबाबु चौरसिया, राजेश पटेल, जिल्ला सहसचिव निपु साह, पारस महतो, गोरख साह, सन्तोष पटेल, पन्नालाल राउत कुर्मी लगायतको उपस्थिति थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *