रसीद आलम,बिरगंज , पुस १९।राजस्व अनुसन्धान विभागले बिलबिजक विनाको सुन तस्करी प्रकरणमा २५ करोड ६० लाखभन्दा बढी बिगो सहित दुईवटा अभियोगपत्र दर्ता गरेको छ।
राजस्व अनुसन्धान कार्यालय, पथलैयाले जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्राप्त प्रतिवेदनका आधारमा ८२४३.९७० ग्राम बिलबिजक विनाको सुन प्रकरणमा भारतीय नागरिक अभिषेक अजिनाथ कुटे, राहुल विठ्ठल बाड, राहुल गोरख दगडे, हन्मन्त विठ्ठल मोरे र नेपाली नागरिक आयुष सापकोटा, रविन्द्र वाइवा तामाङ, तथा विनोद पुनविरुद्ध उच्च अदालत पाटन, हेटौंडा ईजालसमा पुस १८ गते अभियोगपत्र दर्ता गरेको हो।
उक्त अभियोगपत्रमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अन्तर्गत बिगो रु. १२.१२ करोड कायम गरी बिगो बराबर जरिवाना र हदैसम्मको कैद सजायको माग गरिएको छ।
यसैगरी, ४९१.१३ ग्राम सुन तस्करी प्रकरणमा भारतीय नागरिक सुजित सराफ र नेपाली नागरिक सोनी कुमारी शाहविरुद्ध पुस १२ गते अर्को अभियोगपत्र दर्ता गरिएको छ। यसमा बिगो रु. ६७ लाख ३४ हजार ३७९ कायम गरी शतप्रतिशत जरिवाना र हदैसम्मको कैद सजायको माग गरिएको छ।
दुवै प्रकरणमा बिगो र जरिवाना गरी कुल २५ करोड ६० लाख ५६ हजार २१६ रुपैयाँसहित अभियोगपत्र दर्ता गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ।
