बिरगंज ,१९ पुस ।
खानेपानी मन्त्री प्रदीप यादवले आज मिति २०८१ साल पुष १९ गते, शुक्रबार, पर्सा र बारा जिल्लामा दुईवटा महत्वपूर्ण खानेपानी पाइपलाइन विस्तार परियोजनाको शिलान्यास गर्नुभएको छ।
पर्सा जिल्लाको वीरगंज महानगरपालिका स्थित जनता सडक अन्तर्गत रामराजापुलदेखि प्रसौनी विर्ता, सवैठवा हुँदै इनर्वा मनियारी, भवानीपुर र जगरनाथपुरसम्म ५ किलोमिटर क्षेत्रमा नयाँ खानेपानी पाइपलाइन विस्तार परियोजनाको शिलान्यास गर्नुभयो। यो परियोजना नेपाल खानेपानी संस्थान वीरगंज शाखा कार्यालयको आयोजनामा अघि बढाइनेछ। मन्त्री यादवले उक्त आयोजनाले ताकिएको समयमै सम्पन्न भएर स्थानीय नागरिकको खानेपानी समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी, बारा जिल्लाको कलैया उपमहानगरपालिका अन्तर्गत मानमत–कलैया–मटिअर्वा सडक खण्डमा जोडिने त्रिचन्द्र स्कूलदेखि भतौडा पोखरीसम्म ३.४ किलोमिटर क्षेत्रमा नयाँ खानेपानी पाइपलाइन विस्तार परियोजनाको शिलान्यास गर्नुभयो। नेपाल खानेपानी संस्थान शाखा कार्यालय, कलैया बाराको आयोजना अन्तर्गत यो परियोजना सम्पन्न भएपछि स्थानीय बासिन्दाले शुद्ध र सुरक्षित खानेपानी उपयोग गर्न सक्ने आशा व्यक्त गर्नुभयो।
दुवै परियोजनाले यस क्षेत्रमा खानेपानीको समस्या समाधानमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
