पर्सा, फागुन २५ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले आज बिहान ८:०० बजे जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा उहाँले मातहतका इकाइ प्रमुखहरूसँग अन्तरक्रिया गर्दै चालू आर्थिक वर्षको कार्यसम्पादन सम्झौताअनुसार लक्ष्य प्राप्त गर्ने गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभयो।
यस अवसरमा उहाँले राजमार्ग तथा ग्रामीण क्षेत्रमा चेकजाँचलाई थप कडाइ गर्न आदेश दिँदै, सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक उपायहरू अपनाउन जोड दिनुभयो। विशेष रूपमा, तीव्र गति, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, मोटरसाइकल चलाउँदा हेल्मेट नलगाउने, तीन जना सवार हुने, क्षमताभन्दा बढी भार बहन गर्ने तथा अव्यवस्थित रूपमा सवारी पार्किङ गर्ने गतिविधिलाई नियन्त्रणमा ल्याउन निर्देशन दिनुभयो।
प्रहरी उपरीक्षक मिश्रले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै यात्रु तथा सवारी चालकहरूको सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ।
