३४ टन प्याज चोरी पैठारी प्रकरणमा उच्च अदालत जनकपुरमा मुद्दा दर्ता

समाचार

बारा,२० चैत ।

राजस्व अनुसन्धान कार्यालय, पथलैयाले ३४ टन प्याज चोरी पैठारी गरेको अभियोगमा तीन जना प्रतिवादीविरुद्ध उच्च अदालत जनकपुरमा अभियोगपत्र दर्ता गरेको छ।

शिव पार्वती ट्रेडर्स (स्थायी लेखा नम्बर ६१५८५८७१३) का प्रोप्राइटर, सर्लाही मलगंवा नगरपालिका-१० निवासी जनक दुलारी देवी र भारतीय मालवाहक १६ चक्के लरी ट्रक (JH02BM 2981) का चालक झारखण्ड, भारत निवासी उमेश यादवले भन्सार जाँचपास नगराई अवैध रूपमा प्याज चोरी पैठारी गरेको पाइएको छ। उनीहरू राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कार्यमा संलग्न रहेको आरोपमा दफा ४ को खण्ड (ख), (छ) र (झ) बमोजिम कसुर गरेको ठहर गर्दै मुद्दा दायर गरिएको राजस्व अनुसन्धान कार्यालय, पथलैयाले जनाएको छ।

अभियोगपत्रमा प्रतिवादीहरू उमेश यादव र जनक दुलारी देवीलाई बिगोस्वरूप रु. १८,२९,०५० जफत गरी सोही बराबरको जरिवाना तथा ऐनको दफा २३ (१)(क) बमोजिम सजायको माग गरिएको छ। साथै, तस्करीमा प्रयोग भएको भारतीय नम्बर JH02BM 2981 को १६ चक्के लरी ट्रक जफत गर्न दफा ३३ (१) बमोजिम कारबाहीको माग गरिएको छ। ट्रकका धनी, भारतको झारखण्ड, जरिया हजारिबाग निवासी नरेश यादवलाई ट्रक जफतका लागि प्रतिवादी कायम गरिएको छ।

राजस्व अनुसन्धान कार्यालय पथलैयाले उक्त मुद्दामा बिगो, जरिवाना र ट्रक जफतसमेत गरी कुल रु. ३६,५८,१०० बराबरको माग दाबी गरेको छ।

कार्यालयका प्रमुख हरि प्रसाद शर्माको नेतृत्वमा राजस्व चुहावट नियन्त्रण तथा तस्करीजन्य गैरकानुनी गतिविधिमा उल्लेखनीय कमी आएको छ। चालु आर्थिक वर्षमा मात्रै कार्यालयले एक दर्जनभन्दा बढी राजस्व चुहावटसम्बन्धी मुद्दा दर्ता गरिसकेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *