वीरगञ्ज, १ साउन।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको साउन २ गते (१८ जुलाई) बिहारको मोतिहारीमा हुने आगमनलाई ध्यानमा राख्दै भारत–नेपाल सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। आतंकी घुसपैठको आशंकाका कारण रक्सौल–वीरगञ्ज मुख्य नाका सहित सम्पूर्ण सीमावर्ती क्षेत्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
सीमामा स्क्यानर मेसिन, डग स्क्वाड तथा अन्य आधुनिक उपकरणहरूको प्रयोग गर्दै भारतीय सुरक्षाकर्मीहरूले गहन जाँच अभियान सञ्चालन गरिरहेका छन्। १८ जुलाईको बिहानदेखि दिउँसोसम्म सीमा पूर्ण रूपमा सील गरिनेछ। उक्त समयमा सवारी साधनको आवागमन मात्र होइन, पैदलयात्रीहरूको आवत–जावत पनि पूर्ण रूपमा निषेध गरिनेछ।
मैत्री पुल सीमा क्षेत्रमा भारतीय प्रशासनले दण्डाधिकारीको तैनाथी गर्नेछ भने एसएसबी (सशस्त्र सीमा बल) को ४७औं बटालियनले सीमा पार गर्ने प्रत्येक व्यक्तिको पहिचान पत्र तथा सामाग्रीको सूक्ष्म जाँच गरिरहेको छ।
सीमावर्ती शंकराचार्य गेट, वीरगञ्ज भन्सार क्षेत्र, सहदेवा, महादेवा, मुसहरवा, पनटोका, धुपवा टोला, भेलाही, सिसवा लगायतका ग्रामीण क्षेत्रहरूमा समेत सुरक्षाकर्मीहरूको संख्या बढाइएको छ। एसएसबीका जवानहरू त्यहाँ कडा निगरानी राख्दै शंकास्पद व्यक्तिहरूसँग सोधपुछ गरिरहेका छन्।
खुला सिमानाको फाइदा उठाउँदै कुनै पनि प्रकारको आतंकी गतिविधि हुन नदिन सुरक्षा निकायहरू पूर्ण रूपमा सतर्क छन्। भारतीय एसएसबी, स्थानीय प्रशासन तथा खुफिया निकायबीच निरन्तर समन्वयमा रहेर सुरक्षा व्यवस्था मजबुत बनाइएको छ।
एसएसबी ४७औं बटालियनका डिप्टी कमाण्डेन्ट नवीन कुमारका अनुसार प्रधानमन्त्रीको भ्रमण सम्पन्न नहुँदासम्म सीमा पूर्ण रूपमा बन्द गरिनेछ र सर्वसाधारणलाई निर्धारित समयअघि वा पछि मात्र सीमा पार गर्न अनुरोध गरिएको छ। प्रधानमन्त्रीको सुरक्षालाई लिएर पूर्वसावधानीका रूपमा यो कदम चालिएको हो।
