बीरगञ्ज, २१ कार्तिक ।
सशस्त्र प्रहरी बल नेपाल, पर्सा मातहतको प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगञ्जले विशेष अपरेसन सञ्चालन गरी लाखौं मूल्य बराबरको अवैध सामान बरामद गरेको छ।
सशस्त्र प्रहरीका अनुसार मिति २०८२ साल कार्तिक २१ गते बिहान करिब ७:१० बजे जिल्ला पर्साको बीरगञ्ज महानगरपालिका–१६, ईनर्वा स्थित खेत क्षेत्रबाट भारततर्फबाट अवैध रूपमा सामान बोकी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारीको कमाण्डमा खटिएको ११ जनाको गाडी–मोबाइल टोलीले उक्त सामान बरामद गरेको हो।
बरामद गरिएको सामानमा करिब रू. १ लाख ५० हजार ६ सय मूल्य बराबरका कपडा, जुत्ता र चप्पलहरू रहेका छन्। सो क्रममा बीरगञ्ज महानगरपालिका–१६ निवासी अन्दाजी १८ वर्षीय उपेन्द्र महतोलाई पनि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएको सामान र नियन्त्रणमा लिइएका व्यक्तिलाई आवश्यक कानूनी कारबाहीका लागि बीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
