रसीद आलम,बीरगंज, कार्तिक २१ ।
पर्सा जिल्लाको बीरगंज महानगरपालिका–२८ सिधुवाटोलस्थित छठिघाट पोखरीमा डुबी मृत्यु भएका एक बालकको शव सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
सशस्त्र प्रहरीका अनुसार मिति २०८२ साल कार्तिक २१ गते बिहान करिब १०:०० बजे उक्त पोखरीमा बाराको विश्रामपुर गाउँपालिका–५ मुसहरवा बस्ने कन्हाई साहका १२ वर्षीय छोरा शनि कुमार साह डुबेको जानकारी प्राप्त भएपछि उद्धार कार्य सुरु गरिएको थियो ।
घटनाबारे स्थानीय बासिन्दाबाट सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल बेश बेलवाका सशस्त्र प्रहरी नायब निरीक्षक लोकबहादुर कार्कीको कमाण्डमा पाँच जनाको टोली र सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सञ्जीव यादवको कमाण्डमा सात जनाको विपद् उद्धार टोली खटिएको थियो ।
संयुक्त प्रयासमा उक्त पोखरीबाट बालकको शव बाहिर निकालिएको र आवश्यक प्रक्रिया पूरा गरी शव नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जनले जानकारी दिएका छन् ।
