रसीद आलम
मकवानपुर, २१ कार्तिक ।
मकवानपुर जिल्लाको उत्तरी भेगका विभिन्न स्थानहरूमा अबैध रुपमा गरिएको गाँजा खेती फडानी गरी नष्ट गरिएको छ।
प्रहरीका अनुसार मिति २०८२ साल कार्तिक १७ गतेदेखि २० गतेसम्म जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण हेटौडाबाट संयुक्त रूपमा खटिएको १०२ जनाको प्रहरी टोलीले उक्त अभियान सञ्चालन गरेको हो।
प्रहरीका अनुसार राक्सीराङ गाउँपालिका अन्तर्गत चिसापानी, बेल्टार, टेम्टा, गोरेटार, देबुटार, कैलाश गाउँपालिका अन्तर्गत सातकन्या, खैरेनी, लागु, जोइटी तथा भिमफेदी गाउँपालिका अन्तर्गत भदौरे, ज्यार्बु लगायतका विभिन्न स्थानहरूमा गरी जम्मा करिब ३० बिगाहा १० कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजाका बोट तथा बेर्ना फडानी गरी नष्ट गरिएको हो।
सुरक्षा निकायले लागू औषध नियन्त्रणका अभियानलाई निरन्तरता दिँदै यस्ता अवैध खेती र तस्करीका गतिविधि विरुद्ध कडा कारबाही जारी रहने जनाएको छ।
