पर्सा, २ वैशाख ।
वैशाख २ गते साँझ वीरगञ्जमा भएको प्रदर्शनको समाचार संकलनमा खटिएका पत्रकारहरू माथि भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघ, पर्साले गम्भीर ध्यानाकर्षण जनाएको छ।
प्रदर्शनको समाचार संकलन गरिरहेका एभी न्यूज टेलिभिजनका सञ्चारकर्मी अर्जुन गुप्ता, मध्य नेपाल सन्देशका अनिल ओझा र चन्द्रसूर्य वाणीका धीरेन्द्र तिवारी ढुंगामुढा र प्रहरीको लाठीको चोटबाट घाइते भएका छन्।
महासंघले यस घटनालाई अत्यन्त दुःखद्, खेदजनक र भत्सर्नायोग्य भन्दै आपत्ति जनाएको छ। महासंघका अनुसार नागरिकमा सत्य तथ्य सूचना पुर्याउने कार्यमा खटिएका सञ्चारकर्मीहरू नै असुरक्षित हुनु विधि, प्रक्रिया र पारदर्शितामाथि कुण्ठित प्रभाव पर्ने कार्य हो।
“पत्रकारहरूमाथि जुनसुकै पक्षबाट भएको आक्रमण सैह्य हुन सक्दैन। प्रहरी प्रशासनले समाचार संकलनमा खटिएका सञ्चारकर्मीहरूको सुरक्षा सुनिश्चित गर्दै भयरहित वातावरणमा कार्य गर्ने सुनिश्चितता दिनुपर्छ,” प्रेस विज्ञप्तिमा उल्लेख छ।
घटनामा संलग्न दोषी पहिचान गरी कडा कानुनी कारबाही गर्नुपर्ने माग गर्दै महासंघले राज्यलाई सञ्चारकर्मीहरूको सुरक्षामा जिम्मेवार बन्न आग्रह गरेको छ। प्रेस विज्ञप्तिमा नेपाल पत्रकार महासंघ पर्साका सचिव विजयकुमार महतोको हस्ताक्षर रहेको छ।

