पर्सा, २ बैशाख ।
जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक सञ्जालमार्फत समाजमा द्वेष, उत्तेजना र तनाव फैलाउने भ्रामक सामग्रीहरू नपोस्ट गर्न, शेयर, लाइक वा कमेन्ट समेत नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रशासनले पछिल्लो समय वीरगञ्जसँग कुनै सम्बन्ध नराख्ने तर समाजमा अस्थिरता र अशान्ति फैलाउने खालका सामग्रीहरू सामाजिक सञ्जालमा देखा परेका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सार्वजनिक सूचना जारी गर्दै यस्ता सामग्रीहरू तत्काल हटाउन आग्रह गरेका छन्। साथै, यस्ता गतिविधि प्रचलित कानुनअनुसार दण्डनीय हुने उल्लेख गर्दै कसैलाई सामाजिक सद्भावमा खलल पुर्याउने काम नगर्न चेतावनी दिएका छन्।
सूचनामा उल्लेख गरिएको छ, “विगत केही समयदेखि विभिन्न सामाजिक सञ्जालमा समाजमा द्वेष र उत्तेजना फैलाउने सामग्रीहरू सार्वजनिक भइरहेका छन्, जुन वीरगञ्जको परिवेशलाई प्रतिकूल असर पार्ने खालका छन्।”
प्रशासनले यस्ता सामग्री शेयर गर्ने, पोष्ट गर्ने, लाइक गर्ने वा सामाजिक सद्भावमा असर पर्ने कमेन्ट गर्नेहरूमाथि कानुनी कारबाही हुने स्पष्ट चेतावनीसमेत दिएको छ। साथै, यस्ता गतिविधि देखेमा नजिकको सुरक्षा निकायलाई जानकारी दिन पनि अनुरोध गरिएको छ।
