महोत्तरी, बर्दिबास ,३० बैशाख ।
लागू औषध ब्राउन सुगरसहित दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। वैशाख ३० गते बिहान १०:३० बजे, बर्दिबास नगरपालिका–३ स्थित अस्थायी ट्राफिक प्रहरी पोष्ट गौरीडाँडामा गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी बिकास बमको कमान्डमा र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासको संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
सिरहा, लहानबाट काठमाडौँतर्फ गइरहेको बा.प्र.०१–००६ख ७३०३ नम्बरको हायस गाडीलाई रोकी जाँच गर्दा, गाडीको अन्तिम सिटमा सवार दुई व्यक्तिको शरीर तथा झोलाको खानतलासी गर्दा प्लास्टिकमा प्याक गरिएको ब्राउन सुगर जस्तो देखिने अवैध लागू औषध अर्धठोस पदार्थ ७ ग्राम (प्लास्टिक बाहेक ५.३७ ग्राम) फेला परेको थियो।
पक्राउ पर्नेहरूमा नुवाकोटको लिखु गाउँपालिका–६ का २८ वर्षीय राजेन्द्र डंगोल र लिखु गाउँपालिका ५ बस्ने २८ वर्षीय दिपेश श्रेष्ठ रहेका छन्। हाल उनीहरूलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
