बारा, जेठ ३०।
स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक युवक बारा जिल्लाको सिमराबाट पक्राउ परेका छन्।
विशेष सूचनाका आधारमा २०८२ साल जेठ २९ गते दिउँसो करिब ४:०० बजे, बारा जिल्ला अन्तर्गत जितपुर सिमरा उपमहानगरपालिका–२ एयरपोर्ट रोडस्थित सिमरा चोकदेखि एयरपोर्टतर्फ जाँदै गरेका एक युवकलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) बेद प्रकाश जोशीको कमाण्डमा खटिएको टोलीले जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका–१६ निवासी विजय महतोका २० वर्षीय छोरा सुरज कुश्वाहालाई शंकास्पद अवस्थामा रोकी खानतलासी गर्दा कालो झोलाभित्र लुकाइ राखिएको ठूलो परिमाणको नगद फेला परेको बारा प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार झोलाभित्र स्रोत नखुलेको नगद नेपाली रुपैयाँ १३,०७,५०० (तेह्र लाख सात हजार पाँच सय) फेला परेको हो, जसमा
- रू. १,००० दरका नोट १,०६७ थान
- रू. ५०० दरका नोट ४८० थान
- रू. १०० दरका नोट ५ थान
रहेको विवरण प्राप्त भएको छ।
साथै, उक्त झोलाबाट विभिन्न बिल, भौचर, कागजातहरू र “सागर मनि ट्रान्सफर, वीरगञ्ज” लेखिएको स्टाम्प समेत बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले सो घटनालाई हुण्डी कारोबारअन्तर्गतको अपराध मानी मुद्दा दर्ता गरि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
