सशस्त्र प्रहरीद्वारा रु. १८ लाख नगदसहित दुई व्यक्ति र मोटरसाइकल नियन्त्रणमा

समाचार

पर्सा,  जेठ ३० ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा चोरी पैठारी गरी ल्याइएको कुल नेपाली रुपैयाँ रु. १८ लाखसहित दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

डिएसपी लोकेन्द्र सुब्बाको कमान्डमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार चेकजाँच प्वाइन्ट नजिकै भारतबाट नेपालतर्फ आउँदै गरेको BR05AT0475 नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलको एअर फिल्टर बक्समा लुकाइएको रु. १३ लाख फेला पारेको हो। सो मोटरसाइकलमा सवार पर्सा जिल्लाको वीरगञ्ज म.न.पा.–२ छपकैयाका अन्दाजी १९ वर्षीय राहुल कुमार तिवारीलाई नियन्त्रणमा लिइएको छ।

उनलाई प्रयोग गरिएको मोटरसाइकलसहित थप अनुसन्धान तथा कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यस्तै, सोही गुल्मबाट खटिएको अर्को टोलीले सोही दिन वीरगञ्ज म.न.पा.–१६ स्थित भन्सार गेट नजिक भारतबाट नेपालतर्फ आउँदै गरेको ना ४७ प ९७१० नम्बरको HERO GLAMOUR मोटरसाइकलमा सवार बाराको प्रसौनी गाउँपालिका–२ का ४० वर्षीय कौशल कुमार गुप्तालाई शरीरको विभिन्न भागहरूमा लुकाइछिपाई ल्याएको रु. ५ लाख नगदसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले सो जानकारी दिएका हुन्।

उनले  प्रयोग गरेका मोटरसाइकलसहित थप अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *