पर्सामा ट्राफिक व्यवस्थापन चुस्त, बसपार्कको व्यवस्थापन भने अस्तव्यस्त

समाचार

बिरगंज, ११ असार

पर्सा जिल्लामा ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त रहे पनि बिरगंज बसपार्कको व्यवस्थापन भने अझै लाचार देखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टको आगमनसँगै पर्साको ट्राफिक व्यवस्था मधेस प्रदेशकै उत्कृष्ट मानिएको छ ।

भट्टको कार्यकालको ६ महिनामा पर्सा ट्राफिक प्रहरीले २ करोड ५५ लाख रुपैयाँ जरिवाना संकलन गरी ऐतिहासिक राजस्व उपलब्धि हासिल गरेको छ । सवारी दुर्घटना न्यूनीकरण भएर मृत्यु दर घटेको पर्सा ट्राफिक कार्यालयको तथ्यांकले देखाउँछ । साथै, प्रहरी निरीक्षक भट्टकै नेतृत्वमा जनचेतनामूलक कार्यक्रम तथा ट्राफिक सप्ताह कार्यक्रमसमेत भव्य रूपमा सम्पन्न भएको थियो ।

यद्यपि, बिरगंज बसपार्कको ट्राफिक व्यवस्थापन भने निकै कमजोर देखिएको स्थानीयको गुनासो छ । बसपार्कभित्र सवारी साधन पार्किङका लागि उपयुक्त व्यवस्था हुँदाहुँदै पनि मुख्य सडक छेउछाउ अव्यवस्थित पार्किङ र अन्यन्त्रित ट्राफिक चापका कारण यात्रु तथा अन्य सवारी चालकहरू हैरान छन् । ड्युटीमा खटिएका प्रहरी टोलीले पार्किङलाई व्यवस्थित गर्न नसकेको भन्दै स्थानीयले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।

बसपार्कको ट्राफिक व्यवस्थापन प्रमुखको जिम्मेवारी प्रहरी सहायक निरीक्षक धर्मेन्द्र प्रसाद झाकै हातमा भए पनि सुधार ल्याउन नसकेको आरोप छ । स्रोतका अनुसार, झा विभिन्न सवारी चालकसँग आर्थिक लाभ लिई अवैध असुलीमा संलग्न रहेको आरोप छ, जसका कारण बसपार्कको पार्किङ अस्तव्यस्त बनेको स्थानीय बताउँछन् ।

यस सन्दर्भमा प्रहरी निरीक्षक लोकराज भट्टले प्रतिक्रिया दिँदै भनेका छन्, “बसपार्कको अवस्थाका सम्बन्धमा गुनासोहरू आएको छ । हामी गहिरो अनुसन्धान गर्नेछौँ र दोषी पाइए कानुनबमोजिम कडा कारबाही गर्ने प्रतिबद्धता जनाउँछौँ ।”

 

बसपार्कको ट्राफिक व्यवस्थापनलाई सुदृढ र प्रभावकारी बनाउन सम्बन्धित निकाय तथा ट्राफिक प्रहरी कार्यालयले उचित कदम चाल्ने हो कि भन्ने सबैको चासो बढेको छ । बिरगंजका नागरिकहरू बसपार्कलाई व्यवस्थित पार्दै सुरक्षित तथा सहज यातायात वातावरणको प्रतीक्षामा रहेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *