वीरगञ्ज, १२ असार । लागू औषध दुरुपयोग एवं ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मिति २०८२ साल असार १२ गते बिहान ७:०० बजे जिल्ला प्रशासन कार्यालय पर्सा तथा जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सचेतनामूलक प्रभातफेरी तथा कोणसभा सम्पन्न भएको छ।
कार्यक्रमअन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. ८ स्थित घण्टाघरबाट सुरु भएको प्रभातफेरी माईस्थान चोक, आदर्शनगर, घडियर्वा पोखरी हुँदै पुनः घण्टाघर पुगेर कोणसभामा परिणत भएको थियो।
कोणसभामा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले लागू औषध दुरुपयोगले समाज, परिवार र राष्ट्रलाई पार्ने गम्भीर असरका विषयमा मन्तव्य व्यक्त गर्दै नागरिकलाई सचेत रहन आग्रह गरे।
यसैगरी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंह, श्री जगं गण पर्साका प्रमुख निराजन कटुवाललगायतले पनि लागू औषधविरुद्धको अभियानलाई प्रभावकारी बनाउन सबै क्षेत्रको सहभागिता आवश्यक रहेको बताए।
कार्यक्रममा सामुदायिक तथा निजी विद्यालयका छात्र-छात्रा, शिक्षक-शिक्षिका, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, स्थानीयवासी, समाजसेवी तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित प्रभातफेरी तथा कोणसभाका सहभागीहरूले लागू औषधको सेवन र ओसारपसारविरुद्ध सचेतना फैलाउन तथा एकजुट भएर अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै सबैलाई सामाजिक उत्तरदायित्व निर्वाह गर्न आग्रह गरेका थिए।
समुदायको सहभागिताले मात्र लागू औषध नियन्त्रण र समाजलाई स्वस्थ राख्न सकिने कार्यक्रममा सहभागी वक्ताहरूले जोड दिए।
