रसीद आलम
वीरगन्ज, २५ असार – वीरगन्ज महानगरसहित पर्सा जिल्लामा चापाकललगायतका खानेपानीका स्रोतहरू सुक्न थालेपछि उत्पन्न संकटप्रति विरोध जनाउँदै जनमत पार्टीको भगिनी संगठन महिला जनमत संघको अगुवाइमा बुधबार वीरगन्जको सडकमा ‘जल सत्याग्रह’ कार्यक्रम सम्पन्न गरिएको छ।
महिला जनमत संघ पर्साका कार्यकर्ताहरूले घण्टाघर चोकमा खाली घैटो, बाल्टिनसहित विरोध प्रदर्शन गरेका थिए। उनीहरूले ‘जल सत्याग्रह’ लेखिएको ब्यानरसहित “सरकार आँखा खोल”, “पानी दे कि मारी दे”, “पर्सालाई पानी संकटग्रस्त क्षेत्र घोषणा गर” जस्ता नारा लगाउँदै सडक तताएका थिए।
जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले प्रदर्शनको क्रममा बोल्दै भने, “चापाकलहरू सुक्दै गर्दा पर्सा जिल्लाबासी पानीका लागि त्राहीमाम् छन्। तर संघ, प्रदेश र स्थानीय तीनवटै तहका सरकारहरू बेखबर छन्। तीन वटै तहका सरकार अन्धा र बहिरा बनेर वीरगन्जलाई उपेक्षा गरिरहेका छन्।”
उनले मधेस प्रदेशमा आफ्नै पार्टीको सरकार हुँदा समेत खानेपानीको समस्या समाधानमा बेवास्ता गरिएकोप्रति गम्भीर आपत्ति जनाउँदै चेतावनी दिए, “यदि तत्काल पानीको दीर्घकालीन समाधान गरिएन भने मुख्यमन्त्रीको कार्यालय घेराउ गर्न बाध्य हुनेछौं।”
महिला जनमत संघ पर्साकी जिल्ला अध्यक्ष अन्जना गुप्ताको नेतृत्वमा सम्पन्न उक्त जल सत्याग्रह कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य, प्रदेश तथा जिल्ला नेतृत्व तहका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
गर्मीको मौसम सुरु भएदेखि वीरगन्जका अधिकांश वडामा चापाकल सुक्दै जाँदा नागरिकको दैनिकी प्रभावित हुँदै गएको छ। स्थानीयवासीहरू दैनिक प्रयोगका लागि पानीको अभावमा परेको पीडा लिएर आन्दोलनमा उत्रिएको जनाइएको छ।
प्रदर्शनमा सहभागीहरुले पर्सा जिल्लालाई पानी संकटग्रस्त क्षेत्र घोषणा गरी विशेष प्याकेजमार्फत तुरुन्त समाधान गर्न सरकारसँग माग गरेका छन्।
