खानेपानी मन्त्री यादवद्वारा झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन

समाचार

इटहरी, सुनसरी, साउन ४ ।
खानेपानी मन्त्री प्रदीप यादवले सुनसरीको इटहरीमा आयोजित एक भव्य समारोहका बीच “झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजना” को औपचारिक उद्घाटन गरेका छन्।

उक्त आयोजनाबाट रामधुनी नगरपालिका झुम्का क्षेत्रका वडा नं. १, २, ३, र ५ का करिब २२,७८७ नागरिक तथा ४,०३१ घरधुरीहरू प्रत्यक्ष लाभान्वित हुनेछन्। आयोजनाको मुख्य उद्देश्य स्वच्छ खानेपानी र प्रभावकारी सरसफाइ सेवामार्फत नागरिकको स्वास्थ्य र जीवनस्तरमा गुणात्मक सुधार ल्याउनु रहेको मन्त्री यादवले उद्घाटन समारोहमा बताएका थिए।

उनले भने, “खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोड्दै हामी सबै समुदायलाई समान सेवा पुर्‍याउनेतर्फ केन्द्रित छौं। कुनै पनि समुदाय विकासको मूलधारबाट पछाडि नपरोस् भन्ने मेरो स्पष्ट उद्देश्य रहँदै आएको छ।”

कार्यक्रममा मन्त्री यादवले आयोजनामा योगदान पुर्‍याउने सम्पूर्ण प्राविधिक टोली, कर्मचारी, विकास साझेदार तथा स्थानीय समुदायप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आयोजनाको सफलताको कामना समेत गरे।

झुम्का क्षेत्रका स्थानीय बासिन्दाहरूले आयोजना सञ्चालनमा आएपछि आफूहरूलाई नियमित, सुरक्षित र गुणस्तरीय खानेपानी सेवा उपलब्ध हुने आशा व्यक्त गरेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *