वीरगञ्ज, साउन ४ ।
सशस्त्र प्रहरी बल, नेपालका पर्सास्थित प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगञ्जका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) लोकेन्द्र सुब्बाको सुनसरीस्थित १ नं. बराहा बाहिनीमा सरुवा भएको छ। संगठनको नियमित सरुवा–बढुवा प्रक्रियाअनुसार उनको सरुवा भएको हो। तर जिम्मेवारी हस्तान्तरण हुनुअघि उनले देखाएको उल्लेखनीय सक्रियता र सफलताले सुरक्षा क्षेत्रमै उदाहरणीय कामको परिचय दिएको छ।
डिएसपी सुब्बाको नेतृत्वमा वीरगञ्ज क्षेत्रमा केवल ७ महिनाको कार्यकालमा करिब ८ करोड रुपैयाँभन्दा बढी मूल्यका विभिन्न अवैध सामानहरू बरामद गरिएको छ। बरामद गरिएका ती सामग्रीहरू राजस्व कार्यालय तथा भन्सारमा बुझाइएर राजस्वमा योगदान पुर्याइएको हो। यो कार्यले सीमा क्षेत्रमा हुने तस्करी, अवैध कारोबार र आपराधिक गतिविधिमा रोक लगाउन सशस्त्र प्रहरी बलले खेलेको भूमिकाको प्रमाण दिएको छ।
डिएसपी सुब्बाले सीमामा कडाइ गर्दै तस्करीको सञ्जालमाथि कडा प्रहार गरेका थिए। उनी नेतृत्वमा भइरहेका नियमित निगरानी, गस्ती र सुराकीका आधारमा गरिएका योजनाबद्ध अपरेशनहरूले सीमा क्षेत्रमा सुरक्षाको वातावरण सुदृढ बनाएको सुरक्षाविद्हरू बताउँछन्। सुब्बाको कार्यकाल सशस्त्र प्रहरीको कुशल नेतृत्व र दृढ इच्छाशक्तिको नमूनाका रूपमा लिइएको छ।
उनको स्थानमा अब डिएसपी पुरुषोत्तम भण्डारीले वीरगञ्ज सीमा सुरक्षा गुल्मको नेतृत्व सम्हालेका छन्। डिएसपी भण्डारीलाई सिमा सुरक्षा तथा तस्करी नियन्त्रणमा अनुभवसहित विपद् व्यवस्थापन विशेषज्ञको रूपमा समेत चिनिन्छ। उनको कमान्डसंगै वीरगञ्जको सुरक्षा तथा शान्ति कायम गर्ने कार्यमा नयाँ अपेक्षाहरू जोडिएका छन्।
वीरगञ्ज खुला सिमानाका कारण तस्करी, अवैध आपूर्ति र आपराधिक गतिविधि नियन्त्रण गर्नु निकै चुनौतीपूर्ण मानिन्छ। यसै कारण, जानकारहरू भन्छन्, “डिएसपी सुब्बाले जस्तो प्रभावशाली सफलता हासिल गर्न डिएसपी भण्डारीका लागि पनि त्यो जिम्मेवारी सजिलो छैन। तर भण्डारीको अनुभव र कार्यशैलीले त्यो चुनौती पार गर्न सक्ने संकेत देखिन्छ।”
सशस्त्र प्रहरी बल, नेपालका उच्च अधिकारीहरूका अनुसार, डिएसपी सुब्बाले सुरक्षाक्षेत्रमा पुर्याएको योगदान अन्य सुरक्षाकर्मीहरूका लागि प्रेरणादायी बनेको छ। राजस्व संकलनमा उल्लेखनीय योगदान, सिमा क्षेत्रको निगरानीमा कठोरता, र तस्करी नियन्त्रणमा प्रभावशाली नेतृत्वले वीरगञ्जको सुरक्षामा नयाँ परिभाषा कोरेको छ।
अब डिएसपी भण्डारीको नेतृत्वमा त्यस सफलतालाई निरन्तरता दिने आशा गरिएको छ। सुरक्षाविद्हरूको विश्लेषणमा, “यदि त्यही प्रतिबद्धता र समर्पण कायम रह्यो भने वीरगञ्जको सुरक्षा अझ सुदृढ बन्नेछ।”
सशस्त्र प्रहरी बल बिरगंज गुल्मको यो नेतृत्व हस्तान्तरणले केवल पद मात्र होइन, जिम्मेवारीको गम्भीरतासमेत परिवर्तन गरेको छ, जसले सीमा सुरक्षामा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ।
