रसीद आलम
पर्सा, १९ साउन।नेपाल–भारत खुला सीमाको दुरुपयोग गर्दै सक्रिय मानव तस्करको सञ्जाललाई पर्सा प्रहरीले फेरि एकपटक ठूलो धक्का दिएको छ। प्रहरी चौकी ईनर्वाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) रोशन कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले एक जना नेपाली किशोरीको सफल उद्दार गर्दै मानव बेचबिखनमा संलग्न एक पुरुषलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको अगुवाइमा सञ्चालन गरिएको मानव तस्करी नियन्त्रण अभियान अन्तर्गत, मिति २०८२ साल साउन १६ गते बिहान ५:०० बजे, वीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेट नजिकैको सडकखण्डमा काठमाण्डौबाट ल्याइएकी एक १४ वर्षीया नेपाली किशोरीलाई भारतको दिल्ली तर्फ लैजाँदै गरेको सूचनाको आधारमा विशेष चेकिङ टोली परिचालन गरिएको थियो।
अनुसन्धान अनुसार, जिल्ला पर्सा सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ का वर्ष २५ का हिरा माझीले ती किशोरीलाई बिभिन्न प्रलोभन देखाई प्रेम सम्बन्धमा पारेर बिवाह गर्छु भन्दै, भारतको दिल्लीमा काम लगाइदिने आश्वासन दिँदै काठमाण्डौबाट वीरगञ्जसम्म ल्याएका थिए। उनलाई दिल्लीतर्फ लैजाँदै गर्दा प्रहरी चेकिङ टोलीले समयमै कदम चाल्दै पीडित किशोरीलाई सकुशल उद्दार गरी तस्करी प्रयास विफल बनाएको हो।
पक्राउ परेका हिरा माझीलाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप लिइ अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिएका छन्।
पक्राउ परेका व्यक्तिको विवरण:
- नाम: हिरा माझी
- उमेर: २५ वर्ष
- ठेगाना: जिल्ला पर्सा, सखुवा प्रसौनी गाउँपालिका–५
पर्सा प्रहरीले सीमावर्ती क्षेत्रमा सक्रिय मानव तस्करीको सञ्जाल विरुद्ध निरन्तर निगरानी तथा कारबाही जारी राखेको छ। खुलेको सीमाको फाइदा उठाउँदै मासूम युवतीहरूलाई प्रलोभनमा पारेर बेचबिखन गर्ने गिरोहलाई तोड्न प्रहरीले थप सक्रियता बढाएको जानकारी दिइएको छ।
प्रहरी प्रशासनको समयमै प्रतिक्रिया र संवेदनशीलताले एक किशोरीको जीवन बर्बाद हुनबाट जोगिएको यो घटनाले देखाएको छ कि मानव तस्करी नियन्त्रणमा सुरक्षाकर्मीको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको छ।
