श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ: पर्सामा घरेलु हिंसाबाट ज्यान गएको घटना

समाचार

पर्सा, साउन १९ ।
जिल्ला पर्सा जिराभवानी गाउँपालिका वडा नं. ५ शंकरसरैयामा मादक पदार्थ सेवनपछि घरायसी विवादका क्रममा आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति सोही स्थानका ३२ वर्षीय जितेन्द्र माझी मुसहर हुन्।

मिति २०८२ साल साउन १७ गते साँझ करिब ६ः३० बजे जितेन्द्र माझीले मादक पदार्थ सेवन गरि घरायसी झगडाका क्रममा २४ वर्षीया आफ्नी पत्नी असपतलीया देवी मुसहरलाई हातपात तथा लठ्ठी प्रहार गरी घाँटीमा समेत चोट पुर्‍याई गम्भीर घाइते बनाएको र उपचार हुन नपाउँदै उनको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट शंकरसरैयाबाट प्रहरी सहायक निरीक्षक विकाउ साहको नेतृत्वमा टोली परिचालन गरिएको थियो। साथै, नजिकका प्रहरी युनिटहरूलाई सूचना दिई सीमावर्ती क्षेत्रहरूमा कडाई गरी अभियुक्तलाई भाग्न नदिन सुराकीको आधारमा घेराबन्दी गर्दै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट सोको (SoCo) सहितको प्रहरी निरीक्षकको कमाण्डमा थप टोली खटाई आवश्यक कानूनी प्रक्रिया सम्पन्न गरिएको छ। मृतकको शव पोष्टमार्टमको लागि नारायणी अस्पताल, वीरगञ्ज पठाइएको र पक्राउ परेका जितेन्द्र माझी मुसहरलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई ज्यानसम्बन्धी कसूर (कर्तव्य ज्यान) अन्तर्गत मुद्दा दर्ता गरिएको प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिनुभयो।

अभियुक्त विरुद्ध पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पक्राउ विवरण

  • नाम: जितेन्द्र माझी मुसहर
  • उमेर: ३२ वर्ष
  • ठेगाना: जिराभवानी गा.पा.-५, शंकरसरैया, पर्सा
  • पक्राउ मिति: २०८२ साउन १७ गते

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *