रसीद आलम
बारा, २३ साउन।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङको नेतृत्वमा लागू औषध तथा अवैध तस्करी कारोबार विरुद्ध कडा अभियान सञ्चालन गरिएको छ। यसै क्रममा बारा प्रहरीले छुट्टाछुट्टै दुई घटनामा लागू औषध गाँजा तथा करिब एक लाख रुपैयाँ बराबरको बिलबिनाको सामान बरामद गरी कारबाही प्रक्रिया अघि बढाएको छ।
गाँजा सहित युवक पक्राउ
विशेष सूचनाका आधारमा मिति २०८२ साल श्रावण २१ गते दिउँसो ३:०० बजे, जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक खेम प्रसाद नेपालको कमाण्डमा खटिएको टोलीले जिल्ला बारा, निजगढ नगरपालिका–४ स्थित एकान्त स्थानबाट लागू औषध गाँजा सहित एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्ति रौतहट, चन्द्रपुर नगरपालिका–४, जुडिवेलाका २३ वर्षीय शिवजी धामी उर्फ शिबु धामी रहेका छन्। उनी सेतो बोरा बोकी शंकास्पद रुपमा उभिरहेको अवस्थामा फेला परेपछि प्रहरी टोलीले शारीरिक खानतलासी गर्दा, निजको साथमा रहेको बोरामा प्लाष्टिकमा प्याक गरी राखिएको १० किलो ३१८ ग्राम गाँजा फेला परेको थियो।
हाल उनलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
करिब ९४ हजार मूल्यको डेरी मिल्क बरामद
त्यसै दिन बिहान ८:४५ बजे, विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक खेम प्रसाद नेपालको नेतृत्वमा खटिएको अर्को प्रहरी टोलीले बारा, कलैया उपमहानगरपालिका–१, भरत चौकस्थित स्थानमा चेकजाँचको क्रममा एक हाईस यात्रुबाहक सवारी साधनबाट बिना बिलबिजक ल्याइएको करिब रु. ९४ हजार ८० बराबरको डेरी मिल्क चकलेट बरामद गरेको छ।
कलैया देखि काठमाण्डौ जाँदै गरेको सो हाईस गाडीमा १०५ प्याकेट डेरी मिल्क लुकाएर ल्याइँदै गरिएको पाइएको थियो। बरामद गरिएका सामानहरू आवश्यक कानुनी प्रक्रिया पुरा गरी भन्सार कार्यालयमा बुझाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।
तस्करी तथा अपराध नियन्त्रणमा कडाइ
एसपी सन्तोष तामाङले जिल्लामा लागु औषध, तस्करी, र संगठित अपराध नियन्त्रण गर्न व्यापक अभियान चलाएका छन्। स्थानीय स्तरमा सक्रिय सूचना संकलन, निगरानी, र छिटो प्रतिक्रिया दिने प्रणालीले परिणाममुखी सफलता मिलिरहेको प्रहरीको भनाइ छ।
एसपी तामाङको यो सक्रियता र नेतृत्वमा बारा जिल्लामा अवैध गतिविधिहरूलाई नियन्त्रणमा लिने प्रहरीको अभियान अझ सशक्त बनिरहेको देखिन्छ। जिल्ला प्रहरी कार्यालय बाराले नागरिकको सहयोग र सतर्कताका लागि पनि अपिल गरेको छ, ताकि समाजलाई लागुपदार्थ तथा अवैध कारोबारमुक्त बनाइ सुरक्षित वातावरण निर्माण गर्न सकियोस्।
