१७औं पटक रक्तदान गर्दै बिरगंजका हुसेनले बचाए ७० वर्षीया वृद्धको ज्यान

समाचार

बिरगंज, साउन १८ ।
मानव जीवन रक्षा र समाजसेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै बिरगंज महानगरपालिका–१६ ईनर्वाका २७ वर्षीय सद्दाम हुसेनले आफ्नो १७औं पटकको रक्तदानमार्फत ७० वर्षीया वृद्धको ज्यान बचाएका छन्।

तराई अस्पतालमा उपचाररत ती वृद्धलाई आकस्मिक रूपमा फ्रेस ब्लड आवश्यक परेको जानकारी पाएलगत्तै हुसेन तुरुन्तै ब्लड बैंक पुगेर रक्तदान गरेका थिए। हुसेनको रक्त समूह O Positive रहेको छ, जुन समूहको रगत तत्काल उपलब्ध गराउन नसकिएको अवस्थामा उहाँको सक्रिय सहभागिताले उपचारमा महत्वपूर्ण सहयोग पुगेको वृद्धको आफ्नतले जानकारी दिदै धन्यवाद दिएका छन् ।

हुसेन विगत लामो समयदेखि सक्रिय रक्तदाता (Active Blood Donor) का रूपमा परिचित छन्। समाजसेवा र मानव कल्याणलाई आफ्नो जीवनको अभिन्न हिस्सा बनाएका उहाँले अहिलेसम्म १७ पटक विभिन्न व्यक्तिहरूलाई रगत उपलब्ध गराइसकेका छन्। “जब–जब कसैलाई रगतको आवश्यकता हुन्छ, म आफ्नो तर्फबाट तत्काल सहयोग गर्न तयार हुन्छु,” हुसेनले बताएका छन्।

उहाँले कुनै पनि बेला O Positive समूहको रगतको आवश्यकता परेमा आफ्नो मोबाइल नम्बर ९८४०५९६४४४ मा सम्पर्क गर्न आग्रह गरेका छन्। “रगत दान गर्नु भनेको जीवन दान गर्नु हो। यो केवल केही मिनेटको काम हो, तर यसले कसैको पूरा जीवन बचाउन सक्छ,” हुसेनले भने।

समाजका लागि प्रेरणादायी व्यक्तित्वका रूपमा स्थापित हुसेनको यो योगदानले रक्तदानको महत्वप्रति जनचेतना फैलाउन थप मद्दत गर्ने अपेक्षा गरिएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *