काठमाडौं ,११ भदौ ।
गृहमन्त्रालयअन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले असहाय, अशक्त, आफ्नै हेरचाह गर्न नसक्ने व्यक्ति तथा ९० वर्ष माथिका जेष्ठ नागरिकका हकमा राष्ट्रिय परिचयपत्र वा परिचय नम्बर अनिवार्य नरहेको स्पष्ट पारेको छ।
नेपाल सरकारको २०८१ साल असार १० गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सामाजिक सुरक्षा, स्वास्थ्य बीमा, नीतिभरण, व्यक्तिगत आयकर दर्ता, सवारी चालक अनुमतीपत्र, कम्पनी दर्ता तथा नवीकरण, बैंकिङ तथा वित्तीय सेवा, टेलिफोन तथा सिमकार्ड, सामाजिक सुरक्षा कोष तथा घरजग्गा किनबेच लगायतका सेवाका लागि राष्ट्रिय परिचयपत्र वा परिचय नम्बर अनिवार्य गरिएको छ।
तर, विभागका अनुसार बालबालिका, असहाय, अशक्त तथा ९० वर्ष माथिका जेष्ठ नागरिकका हकमा भने सेवा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य नभएको स्पष्ट प्रष्ट पारिएको छ।
यद्यपि, विभिन्न स्थानीय तह र सेवा प्रदायक निकायहरुले सो वर्गका सेवाग्राहीसँग पनि अनिवार्य रुपमा परिचयपत्र माग गरेको गुनासो विभागमा आइरहेकाले पुनः सूचना जारी गरिएको विभागले जनाएको छ।
विभागले सम्बन्धित निकायलाई तोकिएको वर्गका सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र नहुने अवस्थामासमेत सहज ढंगले सेवा प्रवाह गर्न आग्रह गरेको छ।
