प्रधानमन्त्रीबाट राजीनामापछि सिंहदरबार जलाइयो : केपी ओली

राजनीति समाचार

काठमाडौँ, ३ असोज ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत् विशेष सन्देश जारी गर्दै हालको राजनीतिक घटनाक्रमप्रति चिन्ता व्यक्त गरेका छन्।

ओलीले आफ्नो सन्देशमा संविधान नेपाली जनताले सात दशक लामो संघर्षपछि आफैंले बनाएको ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै यसको रक्षा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन्। उनले भने, “संविधान जारी गर्दा हामीले नाकाबन्दी र बाह्य हस्तक्षेपको चुनौती परास्त गरेका थियौं। यसैले यो संविधान हाम्रो भविष्यको रेखा हो।”

हालै सम्पन्न जेन–जी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाबारे ओलीले दुःख व्यक्त गर्दै दिवंगत युवाप्रति श्रद्धाञ्जली अर्पण र घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन्। उनले प्रदर्शनमा स्वचालित हतियार प्रयोग भएको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने मागसमेत राखे।

प्रधानमन्त्री पदबाट आफ्नो राजीनामापछि सिंहदरबार, नेपालको नक्सा, न्यायालय, राजनीतिक दलका कार्यालय, नेताहरूको घर र व्यापारिक प्रतिष्ठानहरूलाई लक्षित गरी आगजनी र तोडफोड भएको दाबी गर्दै ओलीले यसलाई संविधान र सार्वभौमसत्तामाथिको ठूलो प्रहारका रूपमा चित्रित गरेका छन्।

उनले भने, “आज देशको अस्तित्वमै आक्रमण भएको छ। यदि समयमै नबुझे हामीसँग पछुताउने बाहेक विकल्प हुनेछैन।”

ओलीले ऐतिहासिक सन्दर्भ स्मरण गराउँदै सबै पुस्ताका नेपालीहरूलाई संविधान जोगाउन र सार्वभौमसत्ताको रक्षा गर्न अपील गरेका छन्। उनले राष्ट्रिय एकतामार्फत मात्र वर्तमान संकट पार गर्दै देशलाई जोगाउन सकिने विश्वास व्यक्त गरे।

“संविधान जोगाऔं, सार्वभौमसत्ताको रक्षा गरौं।”सामाजिक संजाल मार्फत ओलीले अपील गरेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *