बिरगंज, २२ असोज ।
पर्सा जिल्लाको बिरगंज महानगरपालिका–१५ भानुचोकस्थित साह पराडाइज होटेलमा भारतका दुई नागरिक मृत अवस्थामा फेला परेका छन्। आइतबार साँझदेखि होटलमा बस्दै आएका दुबैजनाको शव मंगलबार होटलको कोठा नम्बर १११ भित्रबाट फेला परेको हो।
मृतकहरू भारतको त्रिपुरा निवासी ६७ वर्षीय सजल आचार्यजीर उनका छोरा २५ वर्षीय सागर आचार्यजी रहेका छन्। दुबै जना असोज १९ गते स्वास्थ्य उपचारको उद्देश्यले नेपाल आएका थिए र बिरगंजको बसपार्क नजिकैको उक्त होटलमा बसेका थिए।

पर्सा प्रहरीका अनुसार मंगलबार बिहान र बेलुका दुबैजनाले खाना अर्डर नगरेपछि होटलका कर्मचारीहरूलाई शंका लागेर कोठा नजिक पुगेका थिए। ढोका भित्रबाट लक गरिएको देखिएपछि भेन्टिलेसनबाट हेर्दा एकजना बेडमा उतानो परेको र अर्को व्यक्ति सिलिङ फ्यानको कडीमा पासो लगाई झुण्डिएको अवस्थामा देखिएको प्रहरीलाई होटल व्यवस्थापनले जनाएको छ।
सोबारे जानकारी पाउँनेबित्तिकै बसपार्क प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक धिरेन्द्र थपलियाको कमाण्डमा टोली पुगेर अनुसन्धान सुरु गरेको थियो। साथै वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक श्याम कुमार बस्नेतको टोली पनि घटनास्थलमा खटिएको पर्सा प्रहरीले जनाएको छ।
प्राथमिक अनुसन्धानका अनुसार घटनाको प्रकृति आत्महत्यासँग सम्बन्धित देखिए पनि वास्तविक कारण पत्ता लगाउन पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धान पर्खनुपर्ने प्रहरीले बताएको छ।
शवहरूलाई नारायणी अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको पर्सा प्रहरीका डिएसपी किशोर लम्सालले जानकारी दिएका छन् ।
यसबीच, नेपालस्थित भारतीय महावाणिज्य दूतावासलाई घटनाबारे जानकारी गराइएको छ र दूतावासको समन्वयमा आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनाले भारत–नेपाल सीमावर्ती क्षेत्रमा विदेशी नागरिकको सुरक्षासम्बन्धी प्रश्न पनि उठाएको छ। पर्सा प्रहरीले घटनाका सबै पक्षबारे विस्तृत रूपमा अनुसन्धान भइरहेको जनाएको छ।
