“सत्य बुझौं, अफवाह नफैलाऔं” — मेयर बालेन शाहको सिंहदरबार आगलागीबारे स्पष्टिकरण

समाचार

काठमाडौं, असोज २१।
काठमाडौं महानगरका मेयर बालेन शाहले सिंहदरबारमा भएको आगलागीबारे सामाजिक सञ्जालमार्फत उठेका आरोपहरूको खण्डन गर्दै विस्तृत स्पष्टीकरण सार्वजनिक गरेका छन्। हालैका दिनमा सामाजिक सञ्जालमा “सिंहदरबार जलेर तीन दिनसम्म महानगरको दमकल किन गएन?”, “सिंहदरबार जलाउने नै बालेन शाह हुन्” भन्नेजस्ता आरोपहरू फैलिरहेका थिए।

मेयर शाहले यस्ता आरोपहरू “पूर्णतः भ्रमपूर्ण र तथ्यहीन” रहेको भन्दै ती आरोपको जवाफस्वरूप एक विस्तृत विवरण सार्वजनिक गरेका छन्। उनले भने, “प्रत्येक नागरिकलाई सूचना लिन अधिकार छ, तर हुदै नभएका गलत प्रचार र आरोपहरूको खण्डन गर्न यो लेख्दैछु।”

उनका अनुसार गत भदौ २४ गतेको रात देशमा अत्यन्त अराजक स्थिति थियो। “त्यो बेला राज्य नै ठप्प थियो — न सरकार, न सुरक्षा संयन्त्र। यस्तो अवस्थामासमेत काठमाडौं महानगर आफ्नो दायित्वबाट पछि हटेको थिएन,” शाहले लेखेका छन्।

दमकल संचालन र उद्धार कार्य

शाहले काठमाडौं महानगरमा न्युरोड, बालाजु र रामहिटी गरी ५ वटा दमकल संचालनमा रहेको जानकारी दिएका छन्। उनका अनुसार ती दमकलहरूमा १४ जना नगर प्रहरी र ३० जना सशस्त्र प्रहरी गरी ४४ जनाको टोली तीन सिफ्टमा काम गर्छ।
भदौ २३ देखि २८ गतेसम्म सिंहदरबार, संसद भवन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सर्वोच्च अदालत, विभिन्न सरकारी कार्यालय, बैंक र निजी घरसमेत गरी ५५ भन्दा बढी स्थानमा महानगरका दमकल परिचालन गरिएको उनले उल्लेख गरेका छन्।

शाहले भनेका छन्, “सिंहदरबारमा दमकल ढिलो पुगेको होइन, आन्दोलनकारीको अवरोधका कारण दमकल प्रवेश गर्न नसकेको हो। नेपाली सेनाको दमकलसमेत त्यहाँ काम गर्न नसकेको प्रमाण छ।”

स्वास्थ्य र उद्धार व्यवस्थापन

महानगरले संघीय सरकारको निर्देशन नआउँदै अस्पतालहरूमा घाइतेहरूको निःशुल्क उपचार, औषधि र रगत व्यवस्थापन, खाना तथा बसोबासको व्यवस्था गरेको शाहले जानकारी दिए।
उनका अनुसार, अभिभावकविहीन बिरामीहरूको उपचारमा ‘इनफर्म्ड कन्सेन्ट’ फर्ममा समेत नगर प्रहरीले हस्ताक्षर गरेर जिम्मेवारी लिएको थियो।

त्यस्तै, सहिदहरूको पार्थिव शरीर परिवारसम्म पुर्‍याउने काम पनि महानगरले नेपाली सेना लगायतका निकायसँग सहकार्य गरेर सम्पन्न गरेको उनले बताए।

“अफवाह नफैलाऔं, सत्य बुझौं”

शाहले नागरिक र सञ्चारकर्मीहरूलाई अफवाहमा नपरी सत्य तथ्य बुझेर मात्र निष्कर्ष निकाल्न आग्रह गरेका छन्।
उनले भने, “हल्ला र झूटले जनतालाई भ्रममा पार्छ र दिनरात खट्ने टिमको मनोबल घटाउँछ। कृपया सत्य खोजेर मात्र समाचार लेख्नुहोस्।”

अन्त्यमा उनले लेखेका छन्, “हामी जनताको भरोसा, जिम्मेवारी र आपतकालीन व्यवस्थापनका लागि सधैं खटिनेछौं। देशलाई अहिले आवश्यक कुरा — एकता र सत्य हो, हल्ला र झूट होइन।”

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *