सिरहा, असोज २६ ।
सिरहाको विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाको निर्देशनमा खटिएको संयुक्त प्रहरी टोलीले गोलबजार र माडर क्षेत्रबाट छुट्टाछुट्टै कारवाही गर्दै लागुऔषध खैरो हिरोइन र गाँजा बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले गोलबजार नगरपालिका–६ दुर्गा मन्दिर नजिक गोलचक्रबाट गुम्बा चोकतर्फ आउँदै गरेको प्रदेश २–०१–००१ प. ३०२६ नम्बरको FZ मोटरसाइकल चेकजाँच गर्ने क्रममा लागुऔषध फेला पारेको हो।
चेकजाँचका क्रममा खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेपछि सो मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा–
१. सिरहा गोलबजार नगरपालिका–७ पुरानो चोहर्वाका २९ वर्षीय सुनिल साह, मोटरसाइकल चालक,
२. सिरहा धनगढीमाई नगरपालिका–७ फुलकाहाकट्टीका २४ वर्षीय बिष्णुदेव यादव रहेका छन्।
उनीहरूबाट प्लास्टिकसहित १७ ग्राम ५४० मिलिग्राम, प्लास्टिक बाहेक १५ ग्राम खैरो हिरोइन र सो मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरी गस्ती टोलीले गोप्य सूचनाको आधारमा सिरहा नगरपालिका–१७ पटेर्वा गाउँ नजिक धान खेतको बाटो हुँदै भारततर्फ लागुऔषध बोक्दै गरेको समूहमाथि कारवाही गरेको छ।
प्रहरी देखेपछि केही व्यक्ति ६४.९ किलोग्राम गाँजा फालेर फरार भएका थिए। तर, तीमध्ये भारत बिहार राज्य मधुबनी जिल्ला जयनगर बेलही ग्राम पञ्चायत–६ बेला निवासी ५५ वर्षीय श्रीचन मण्डललाई पक्राउ गरी गाँजासहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
हाल पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको र फरार अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ।
