बारा, असोज २६ । जिल्ला प्रहरी कार्यालय बाराअन्तर्गतको इलाका प्रहरी कार्यालय अमलेखगंजले प्रतिबन्धित पटाका नियन्त्रणमा लिन सफल भएको छ।
प्रहरीका अनुसार असोज २६ गते बिहान ११:३० बजे सो कार्यालयको चेकपोइन्ट अगाडि नियमित सवारी चेकजाँचका क्रममा उक्त बरामद गरिएको हो। इलाका प्रहरी कार्यालय अमलेखगंजका प्रहरी वरिष्ठ नायब निरीक्षक (प्र.ब.ना.नि.) धनप्रसाद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना.६ ख ६२९३ नम्बरको यात्रुबाहक बस रोकी जाँच गर्दा बसको डिकीभित्र लुकाइ–छिपाइ राखिएको प्रतिबन्धित पटाका फेला पारेको हो।
बरामद गरिएको उक्त पटाकाको अनुमानित मूल्य एक लाख सात हजार रुपैयाँ (रु. १,०७,०००) बराबर रहेको बारा प्रहरीले जनाएको छ। आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय अमलेखगंजमा राखिएको छ।
प्रहरीका अनुसार चाडपर्व नजिकिँदै गर्दा बजारमा प्रतिबन्धित पटाका, विस्फोटक वस्तु तथा अवैध सामग्रीको बिक्री–वितरण रोक्न विशेष निगरानी बढाइएको छ। स्थानीयलाई पनि यस किसिमका जोखिमपूर्ण तथा गैरकानूनी गतिविधिबाट टाढा रहन र यस्ता वस्तुको कारोबार गर्नेबारे जानकारी भएमा नजिकैको प्रहरी कार्यालयमा सूचित गर्न अनुरोध गरिएको छ।
साथै, प्रहरीले आगामी तिहार पर्वलाई लक्षित गरी बारा जिल्लाका विभिन्न नाकाहरूमा सुरक्षा चेकजाँचलाई थप कडाइ गरिएको र यस्ता गैरकानूनी कार्यमा संलग्न व्यक्तिहरूविरुद्ध कडा कानूनी कारबाही गरिने चेतावनी पनि दिएको छ।
