ईन्सपेक्टर सुवेदीले जिम्मेवारी सम्हाले लगत्तै बिर्ता प्रहरीले नियन्त्रणमा लियो करिब २० लाख बराबरको औषधि र अवैध सामान

समाचार

बिरगंज, ३ कार्तिक ।
जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा रहेको वडा प्रहरी कार्यालय बिर्ताका नयाँ प्रमुख प्रहरी निरीक्षक बिक्रम सुवेदीले आइतबारदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन् । जिम्मेवारी सम्हालेको पहिलो दिनमै उनले नेतृत्व गरेको बिर्ता प्रहरीले करिब २० लाख रुपैयाँ बराबरको औषधि तथा अवैध सामान नियन्त्रणमा लिने उल्लेखनीय सफलता हात पारेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको आदेशअनुसार प्रहरी निरीक्षक निरोज चौलागाईंको सरुवा भएपछि उक्त कार्यालयको नेतृत्व प्रहरी निरीक्षक बिक्रम सुवेदीले लिएका हुन् । निरीक्षक चौलागाईंले आफ्नो कार्यकालमा बिर्ता क्षेत्रमा शान्ति सुरक्षा, तस्करी नियन्त्रण, चोरी पैठारी र आपराधिक गतिविधिमा नियन्त्रण गर्दै स्थानीयको विश्वास जित्न सफल भएका थिए । उनका उत्कृष्ट कार्यशैली र जनमिलनमुखी व्यवहारका कारण उनले बिर्ता क्षेत्रको प्रहरी छविलाई सुदृढ पारेका थिए । स्थानीयवासीका अनुसार चौलागाईंको कामले राखेको उच्च स्तरलाई निरन्तरता दिन निरीक्षक सुवेदीबाट पनि त्यही अपेक्षा गरिएको छ ।

निरीक्षक सुवेदीले जिम्मेवारी सम्हालेको दिनमै बिर्ता प्रहरी टोलीले बिरगंज महानगरपालिका–१ डम्पिङ साइट नजिकैबाट भारतबाट अवैधरूपमा भित्र्याइएका अन्दाजी मूल्य रु. १९ लाख ७३ हजार ७५७ बराबरका विभिन्न औषधिहरू बरामद गर्न सफल भएको छ । बरामद गरिएका ती औषधिहरू आवश्यक अनुसन्धान तथा कारबाहीका लागि औषधि व्यवस्था विभाग, बीरगंजमा पठाइएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, सोही दिन बीरगंज महानगरपालिका–१६, बोखरा चोक सडक नजिकबाट भन्सार छलि गरी ल्याइएका रु. १ लाख ३० हजार ४०० बराबरका विभिन्न कपडा र भ्याकुम क्लिनर मेसिन समेत बरामद गरिएको छ । बरामद गरिएका ती सामानहरू आवश्यक कानूनी कारबाहीका लागि बीरगंज भन्सार कार्यालयमा पठाइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

बिर्ता क्षेत्र तस्करी र भन्सार छलिका घटनाका कारण संवेदनशील मानिँदै आएको छ । यस्ता घटनामा रोकथाम गर्दै जनविश्वास कायम गर्न प्रहरी निरीक्षक सुवेदी नेतृत्व प्रहरी टोलीसंग स्थानीयवासीहरूले अपेक्षा गरेका छन् ।

सुवेदीले जिम्मेवारी सम्हालेपछि संक्षिप्त प्रतिक्रिया दिँदै भने, “शान्ति सुरक्षा कायम गर्न, तस्करी नियन्त्रण र अपराधमुक्त समाज निर्माणमा बिर्ता प्रहरी पूर्णतः प्रतिबद्ध हुनेछ । स्थानीयको सहयोग र प्रहरीको समर्पणले क्षेत्रलाई थप सुरक्षित र शान्त बनाउन सक्छौं,”

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *