वीरगञ्ज, १५ कार्तिक ।
जिल्ला पर्साको वीरगञ्ज महानगरपालिका–१० का गोल्डेन भन्ने शिवम साह कानुको हत्यामा संलग्न पक्राउ परेका प्रतिवादीहरूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
गत २०८२ साल असोज १४ गते राति करिब ११:३० बजे वीरगञ्ज–१० स्थित गीता मन्दिर सडक छेउमा लागेको गहवामाई मेला(दशै )मा साहमाथि कुटपिट तथा चक्कु प्रहार गरी हत्या गरिएको थियो । सो घटनामा संलग्न रहेका आरोपीहरूलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान पश्चात पर्सा जिल्ला अदालतको आदेश अनुसार वीरगञ्ज कारागार कार्यालयमा चलान गरिएको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिएका छन् ।
‘खुनी दरिन्दे’ नामक WhatsApp समूहमार्फत योजनाबद्ध रूपमा घटना घटाएको बताइएको छ । अदालतको चलानी नं. ०८२–५१–००३५३१ अनुसार प्रतिवादीहरूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
कारागार चलान भएका प्रतिवादीहरूको विवरणः
- जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका–२४ रामगढवा बस्ने वर्ष १९ का गौतम पटेल
- सोही स्थानका वर्ष २० का सुभांकर चौरसिया
- सोही स्थानका वर्ष २२ का अमिरी पटेल उर्फ करण प्रसाद पटेल
- रामगढवा बस्ने नाम थर परिवर्तित एक जना युवक।
पुलिसका अनुसार हत्यामा संलग्न अन्य सम्भावित व्यक्तिहरूको समेत खोजी कार्य जारी रहेको छ ।
