बीरगंज, ८ मंसिर ।
मधेस प्रदेशको पर्सा जिल्लामा सशस्त्र प्रहरीले लागुऔषध गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल पर्साका एसपी पुरनचन्द्र भट्टको नेतृत्वमा खटिएको टोलीले भारततर्फ तस्करी गर्न तयारी अवस्थामा राखिएको करिब ९ केजी गाँजा नियन्त्रणमा लिन सफल भएको हो।
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म सुवर्णपुरबाट खटिएको संयुक्त चेकिङ टोलीले आज मिति २०८२/०८/०८ मा पर्सा ठोरी गाउँपालिका–४, मालिबस्तीस्थित सीमाक्षेत्रमा नेपालबाट भारततर्फ जाँदै गरेका दुई मोटरसाइकललाई शंका लागी रोकेर चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा प्र.०२.००१ प ५२०२ तथा BR 22 AK 2944 नम्बर प्लेट भएका मोटरसाइकल रोकेपनि चालक भने अन्धाधुन्ध भागेको सशस्त्र प्रहरीले जनाएको छ।
त्यसपछि गरिएको विस्तृत चेकजाँचमा मोटरसाइकलको ट्याङ्की भित्र विशेष तरिकाले लुकाइ–छिपाई राखिएको लगभग ९ केजी गाँजा फेला परेको सशस्त्र प्रहरीले जानकारी दिएको छ। बरामद गाँजासँगै दुईवटै मोटरसाइकल तथा १ थान एंड्रोइड मोबाइलसमेत नियन्त्रणमा लिइएको छ।
सशस्त्र प्रहरी नायब निरीक्षक विश्वराज योन्जनका अनुसार बरामद सबै सामग्री आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।
उनका शब्दमा, “सीमामा लागुऔषध तस्करी नियन्त्रण हाम्रो प्रमुख प्राथमिकता हो। यसैअनुसार निगरानी, गस्ती र कारबाही थप सशक्त बनाइएको छ।”
सीमाक्षेत्र हुँदै नेपाल–भारत आवतजावतको संवेदनशीलताका कारण पछिल्लो समय सशस्त्र प्रहरीले अवैध कारोबार, तस्करी तथा लागुऔषध नियन्त्रणमा अभियानलाई अझ प्रभावकारी बनाउँदै आएको छ।
