बिरगंज, १७ मंसिर ।
पर्सा जिल्लामा लागूऔषध नियन्त्रण अभियानलाई झनै प्रभावकारी बनाउँदै जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकले कडाइका साथ अघि बढाएको अभियान अन्तर्गत फेरि एक ठूलो सफलता हात लागेको छ। अपराध नियन्त्रण, युवाहरूलाई लागुऔषधको जोखिमबाट बचाउने र जिल्लामा सुरक्षित तथा शान्त समाज निर्माण गर्ने उद्देश्यले प्रहरीद्वारा सञ्चालन गरिएको अभियान सशक्त बन्दै गएको छ।
यसै क्रममा विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले चरेस सहित एक व्यक्तिलाई पक्राउ गर्न सफल भएको छ।
मिति २०८२।०८।१६ गते बिहान करिब १०:०५ बजे वीरगञ्ज महानगरपालिका–१५, प्रतिमा चोक स्थित मुख्य सडकखण्डमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष प्रहरी टोलीले सवारी तथा व्यक्तिको शंकास्पद गतिविधि हेरेर चेकजाँच गर्दा धोबिनी गाउँपालिका–५ बस्ने ४८ वर्षीय सम्सुल मियाँको साथबाट १० किलो चरेश बरामद गरिएको प्रहरीले जनाएको छ।
सम्सुल मियाँले बोकेको कालो ब्यागभित्र प्लाष्टिकले बेरि लुकाइ छिपाई राखिएको अवस्थामा भेटिएको उक्त चरेसलाई प्रहरीले नियन्त्रणमा लिएको र मियाँलाई लागूऔषधसम्बन्धी कसूरमा पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए।
पक्राउ परेका व्यक्ति :
१. सम्सुल मियाँ, ४८ वर्ष
- ठेगाना : धोबिनी गाउँपालिका–५, पर्सा
- बरामद लागुऔषध : चरेस जस्तो देखिने पदार्थ १ पोकामा १० केजी
अभियानको प्रभावकारिता बढ्दो
पछिल्ला दिनहरूमा पर्सामा पटक–पटक ठूलो परिमाणमा लागुऔषध बरामद हुन थालेको छ, जसले एसपी सुदिप राज पाठकको नेतृत्वमा सञ्चालन भइरहेको अभियान सफलरूपमा अघि बढिरहेको स्पष्ट देखाउँछ। प्रहरी प्रशासनले स्रोत–सूचना संकलन, निगरानी प्रणाली, प्राविधिक प्रयोग तथा समन्वित कारबाहीलाई अझै सुदृढ बनाएको छ।
लागुऔषध ओसारपसार तथा कारोबारमा संलग्न समूहहरूमाथि कडाइ गरिएकोले जिल्लामा सकारात्मक सन्देश पुगेको र युवा पुस्तालाई लागुऔषधको जोखिमबाट जोगाउन यो अभियान महत्वपूर्ण रहेको प्रहरीको भनाइ छ।
पर्सा प्रहरीले आगामी दिनमा पनि यस्ता अपराधविरुद्ध थप कडाइका साथ कारबाही निरन्तर जारी राख्ने जनाएको छ।
