काठमाडौ ,१८ मंसिर ।
जेनजी विद्रोहले दिएको म्यान्डेटलाई स्मरण गराउँदै भ्रष्टाचारविरुद्धको लडाइँ कुनै पनि अवस्थामा नरोकिने प्रधानमन्त्री सुशीला कार्कीले स्पष्ट गरेकी छन्। सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उनले सरकारले सुशासन तथा पारदर्शिता कायम गर्न दृढतापूर्वक अघि बढ्ने उल्लेख गरेकी हुन्।
प्रधानमन्त्री कार्कीका अनुसार राज्यका स्थापित निकायहरूलाई व्यावसायिक स्वतन्त्रता सहित कानुनी प्रक्रियाअनुसार सक्रिय रूपमा काम गर्न निरन्तर प्रेरित गर्दै आएको बताइन्। उनले भने, “सरकार निरुत्साहित हुँदैन। भ्रष्टाचारविरुद्धको अभियानलाई अझ प्रभावकारी बनाउँदै अघि बढ्छ।”
उनले आगामी निर्वाचन तयारीसँगै प्रणाली सुधारका प्रयासहरू पनि निरन्तर चलिरहेको जानकारी दिँदै लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने सरकारको प्रतिवद्धता दोहोर्याइन्।
प्रधानमन्त्री कार्कीले सबै सरोकारवालालाई सहयोगका लागि धन्यवाद दिंदै पारदर्शी र जवाफदेही शासन निर्माणमा सबै पक्षको संयुक्त प्रयास आवश्यक रहेको उल्लेख गरिन्।
