बारा, मंसिर १७ ।
बारा प्रहरीले प्रतिबन्धित लागू औषधसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ।
मंसिर १७ गते दिउँसो करिब ३:४० बजे इलाका प्रहरी कार्यालय छतवाबाट प्रहरी बरिष्ठ हवल्दार रामस्वरूप यादवको कमाण्डमा खटिएको टोलीले बारा जिल्लाको बिश्रामपुर गाउँपालिका–१ बटम चोक क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेको BR 05 AM 6152 नम्बरको मोटरसाइकललाई शंकास्पद अवस्थामा रोकेर जाँचबुझ गर्दा ठूलो परिमाणमा प्रतिबन्धित लागू औषध बरामद गरेको छ।
मोटरसाइकल चालकले पिठ्युँमा बोकेको झोलाभित्र लुकाएर ल्याइएका लागू औषध बरामदसँगै एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्ति भारत, मोतिहारी जिल्ला हरपुर पंचायत–१२ का ३२ वर्षीय मोहम्मद इमरान हुन्।
बरामद लागू औषध :
- Alprazolam (Trika) 1 mg – ७२ पत्ता (७२० ट्याब्लेट)
- Alprazolam (Trika) 0.5 mg – ५२ पत्ता (७८० ट्याब्लेट)
उक्त लागू औषधसहित इमरानलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता प्रहरी निरीक्षक खेम प्रसाद नेपालले जानकारी दिएका छन्।
