वीरगञ्ज, १६ पुस।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकको सक्रिय नेतृत्वमा सञ्चालन भइरहेको हुण्डी सम्बन्धी अवैध कारोबार नियन्त्रण अभियान अन्तर्गत पर्सा प्रहरीले स्रोत नखुलेको ६ लाख ७१ हजार ९ सय ५० रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ।
हुण्डी कारोबार नियन्त्रणलाई थप प्रभावकारी बनाउँदै पर्सा प्रहरीको विशेष टोलीले प्राप्त विशेष सूचनाका आधारमा मिति २०८२ साल पुस १४ गते वीरगञ्ज महानगरपालिका–१० स्थित मकालु चोक क्षेत्रबाट अवैध रूपमा हुण्डी कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यक्तिहरूलाई स्रोत नखुलेको नगद रकमसहित जिल्ला प्रहरी कार्यालय पर्सा ल्याई आवश्यक अनुसन्धान अघि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता राजु कार्कीका अनुसार पक्राउ परेकाहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) अनुसार ‘हुण्डी सम्बन्धी कारोबार गर्न नहुने’ कसुरमा पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।
पक्राउ परेका व्यक्तिहरूको विवरण
१. भारत, बिहार राज्य, बेतिया जिल्ला, बैरिया थाना वडा नं. ०८ मथौली घर भई हाल पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–०२ छप्कैया बस्ने सफी अहमदका छोरा ५० वर्षीय अनवर मिया।
२. सोही स्थानमा बस्ने अनवर मियाका छोरा २२ वर्षीय महमद कैफ अहमद।
उनीहरू दुवैलाई वीरगञ्ज महानगरपालिका–१० मकालु चोकबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार BR 22 H 6338 नम्बरको भारतीय मोटरसाइकलमा सवार अनवर मियाको पाइन्टको खल्तीबाट १ हजार दरका ५२ थान, ५ सय दरका १५७ थान र ५० दरका ९ थान नोट गरी जम्मा १ लाख ३० हजार ९ सय ५० रुपैयाँ बरामद गरिएको छ।
त्यसैगरी पछाडि सवार महमद कैफ अहमदको पाइन्टको खल्तीबाट १ हजार दरका २०० थान र ५ सय दरका २०० थान नोट गरी जम्मा ३ लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
३. भारत, बिहार राज्य, मोतिहारी जिल्ला, दरपा थाना अन्तर्गत ग्राम पञ्चायत गम्हरियाकला वडा नं. ०३ निवासी गफुर मियाका छोरा ४८ वर्षीय फूल महमद।
फूल महमदलाई पनि वीरगञ्ज महानगरपालिका–१० मकालु चोकबाट पक्राउ गरिएको हो। लु ४१ प ६८९७ नम्बरको मोटरसाइकलमा सवार उनको ज्याकेटको खल्तीबाट १ हजार दरका २४१ थान नोट गरी जम्मा २ लाख ४१ हजार रुपैयाँ बरामद गरिएको छ।
यसरी तीनै जनाबाट बरामद गरिएको स्रोत नखुलेको कुल नगद रकम ६ लाख ७१ हजार ९ सय ५० रुपैयाँ पुगेको प्रहरीले पुष्टि गरेको छ।
एसपी सुदिप राज पाठकले अवैध हुण्डी कारोबारले अर्थतन्त्रमा नकारात्मक असर पार्ने भएकाले यस्ता गतिविधिविरुद्ध पर्सा प्रहरी कडाइका साथ लागिरहेको बताए। उनले सीमावर्ती क्षेत्रलाई केन्द्रमा राखी अवैध आर्थिक कारोबार नियन्त्रणका लागि निगरानी र कारबाही अझ तीव्र बनाइने स्पष्ट पारे।
पर्सा प्रहरीले आम नागरिकलाई पनि अवैध हुण्डी तथा गैरकानुनी आर्थिक कारोबारसम्बन्धी गतिविधि देखेमा तुरुन्त प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ।
