पर्सा, २० पुस।
धनुषा जिल्लाको कमला नगरपालिका–६ स्थित मुस्लिम टोलमा रहेको मस्जिदमा अज्ञात समूहले तोडफोड गरी पवित्र कुरान जलाएको घटनाको कडा विरोधमा आइतबार वीरगञ्जमा मुस्लिम समुदायले व्यापक प्रदर्शन गरेका छन्।
घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भई भाइरल भएपछि मुस्लिम समुदाय आक्रोशित बनेको हो। बिहानैदेखि सुरु भएको प्रदर्शनमा हजारौं प्रदर्शनकारी सहभागी भएका थिए। घण्टाघर, मुर्ली, छपकैया र इदगाह चोकलगायत क्षेत्रहरूमा प्रदर्शनकारी सडकमा उत्रिएर टायर बाल्दै नाराबाजी गरेका थिए।
प्रदर्शनकारीहरूले “कुरान जलाउन पाउँदैन”, “अल्पसंख्यकमाथिको दमन बन्द गर” र “मस्जिद आक्रमणकर्तामाथि कडा कारबाही गर” जस्ता नारा लगाएका थिए। प्रदर्शनका क्रममा छपकैया स्थित इदगाह चोकमा प्रदर्शनकारी र प्रहरीबीच सामान्य झडप भएको थियो।
स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको पर्सा प्रहरीले जनाएको छ। झडपपछि उक्त क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ।
नेपाल मुस्लिम समाज सङ्घ पर्साका अध्यक्ष महबुब अली उर्फ शेरु आलमले घटनामा संलग्न दोषीहरूलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्। उनले दोषीमाथि कारबाही नभए थप कडा आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन्।
उक्त घटनाले देशभरका मुस्लिम समुदायमा गहिरो आक्रोश फैलिएको छ। धार्मिक स्थलमाथिको आक्रमणले धार्मिक सद्भावमा गम्भीर खलल पुग्ने खतरा रहेको भन्दै प्रशासनले सुरक्षा सतर्कता बढाएको जनाएको छ।
