पर्सा, पुस ,२७।
आम जनता पार्टीका नेता मोहम्मद इस्तखारले प्रतिनिधि सभा निर्वाचन २०८२ मा पर्सा क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिने दाबी गरेका छन्।
आफू स्थानीय स्तरमा जनतासँग नजिकको सम्बन्ध बनाउँदै आएको र पार्टीभित्र पनि सकारात्मक छवि कायम रहेको बताउँदै उनले पार्टीले टिकट दिनेमा आफू विश्वस्त रहेको बताएका छन्।
“म लामो समयदेखि पर्सा क्षेत्र नं. ३ का स्थानीयवासीहरूसँग प्रत्यक्ष रूपमा जोडिँदै आएको छु। जनताको समस्या, आवश्यकता र अपेक्षा मैले नजिकबाट बुझेको छु,” उनले भने, “पार्टीको नीति, सिद्धान्त र संगठन विस्तारमा गरेको योगदानका कारण पार्टीले मलाई उम्मेदवार बनाउने विश्वास लिएको छु।”
उनका अनुसार यदि पार्टीले उम्मेदवारी दिएमा जनताको हित, विकास र सुशासनलाई केन्द्रमा राखेर चुनावी प्रतिस्पर्धामा उत्रिने तयारी रहेको छ।
पर्सा क्षेत्र नं. ३ मा आगामी प्रतिनिधि सभा निर्वाचनलाई लिएर राजनीतिक सरगर्मी बढ्दै गएको छ भने विभिन्न दलबाट आकांक्षीहरूको गतिविधि समेत तीव्र बन्दै गएको छ।
